काठमाण्डौ । सञ्चालक समितिले उच्च व्यवस्थापनबाट पास भएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पारित गरेको खण्डमा आज सार्वजनिक हुने भएको छ ।
नेपाल राष्ट्रबैंक स्रोतकाअनुसार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षालाई मुख्य अजेण्डा बनाएर आजै सञ्चालक समितिको बैठक बोलाइएको छ । सञ्चालक समितिले पारित नगरुञ्जेल मौद्रिक नीतिको समीक्षा आजै आउँछ भनेर ग्यारेण्टी गर्न नसकिने स्रोतको भनाई छ।
'यो साता जसरी पनि हामीले समीक्षा सार्वजनिक गर्नुपर्छ ।' स्रोतले भन्यो-'आजैको सम्भावना पनि उच्च छ । तर निर्णय भइसकेको छैन ।'
राष्ट्रबैंकका उच्च अधिकारीहरुका अनुसार राष्ट्रबैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा खासै धेरै र ठूला नीतिगत परिवर्तनहरु गर्ने छैन । 'ठूला नीतिगत परिवर्तन गरिहाल्नुपर्ने अवस्था छैन ।' स्रोतले भन्यो-'अघिल्लो समीक्षामा सामान्य थपघट गरेरै अर्धवार्षिक समीक्षा आउला । ठूला परिवर्तनहरु केही पनि हुने छैनन् ।'
उच्च स्रोतका अनुसार सेयर लगानीकर्ताले चाहेजस्तो परिवर्तनहरु पनि हुने सम्भावना कम छ ।
*यसअघिको समाचारमा असावधानीका कारण आज बोलाइएको केन्द्रीय बैंकको सञ्चालक समितिको बैठक हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।
-सम्पादक