काठमाण्डौ । युरोपमा नयाँ कारको बिक्री बढेको छ । युरोपियन अटोमोबाइल म्यानुफ्याक्चर्सका अनुसार अक्टोबर महिनामा युरोपमा नयाँ कारको बिक्री ४.९ प्रतिशतले बढेको छ ।
उक्त अवधिमा ईभी कारको बिक्रीले पेट्रोल र डिजेल कारको बिक्रीलाई उछिनेको छ ।
यो वर्ष युरोपेली कार बजार विभिन्न कारणले प्रभिावत बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीति, चिनियाँ बजारमा छाएको सुस्तता र ईभी सवारीमा अपेक्षा गरेभन्दा कम दरमा भएको रुपान्तरणका कारण युरोपको बजार प्रभावित रह्यो ।
यस्तै हालै नेदरल्याण्डको चिप निर्माता कम्पनी नेक्सपेरियाको आपूर्ति श्रृंखलामाथि मडारिएको कालो बादलका कारण समेत आगोमा घ्यु थप्ने काम गर्यो । यद्यपी चिनियाँ ईभी कारको आयात भने बढेको छ ।
अक्टोबर महिनामा युरोपियन युनियन, बेलायत र युरोपियन फ्रि ट्रेड एशोसियसनका क्षेत्रभित्र १० लाख ९२ हजार युनिट कार बिक्री भएको छ । ठूला बजार जर्मनी र बेलायतमा गत वर्षको तुलनामा बढी कार थपिएका छन् ।
यद्यपी यो अवधिमा ठूला बजारमा पेट्रोल र डिजेल कारको बिक्रीमा भने कमी आएको छ ।

