काठमाण्डौ । सरकारले विद्युतीय सवारीसाधन (ईभी) मा लाग्ने भन्सार तथा कर संरचनामा गरेको संशोधनको प्रत्यक्ष लाभ उपभोक्तालाई हस्तान्तरण गर्दै सीजी मोटोकर्पले सुजुकीको बहुप्रतीक्षित विद्युतीय एसयूभी ई–भिटारा (e-Vitara) को मूल्य सबै भेरियन्टमा १ लाख रुपैयाँले घटाएको घोषणा गरेको छ।
नेपालका लागि सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै बजेटपछिको नयाँ कर संरचनाअनुसार मूल्य समायोजन गरिएको जनाएको हो। कम्पनीका अनुसार नयाँ मूल्य तत्कालै लागू भइसकेको छ र यसले बुकिङ गरिसकेका तथा डेलिभरी हुन बाँकी ग्राहकलाई समेत लाभ पुग्नेछ।
मूल्य घटेसँगै ई–भिटाराको प्रवेश स्तरको डेल्टा भेरियन्ट अब ४८ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछ। यसअघि यसको एमआरपी ५२ लाख ९९ हजार रुपैयाँ थियो। त्यस्तै, जेटा भेरियन्ट ५२ लाख ९९ हजार, अल्फा भेरियन्ट ५८ लाख ९९ हजार र शीर्ष भेरियन्ट अल्फा डुअल टोन (DT) ५९ लाख ४९ हजार रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
कम्पनीका प्रबन्ध निर्देशक करण चौधरीले सरकारले ईभीलाई थप पहुँचयोग्य बनाउने उद्देश्यले दिएको सहुलियत पूर्ण रूपमा ग्राहकसम्म पुर्याउने आफ्नो नीति रहेको बताएका छन्। उनका अनुसार सरकारबाट सिर्जना भएको वित्तीय लाभलाई नाफाको रूपमा राख्ने होइन, उपभोक्तालाई नै हस्तान्तरण गर्ने रणनीतिअन्तर्गत मूल्य घटाइएको हो।
नेपाल दक्षिण एशियामै तीव्र गतिमा विद्युतीय सवारी अपनाइरहेको बजारमध्ये एक मानिन्छ। पेट्रोलियम पदार्थको आयातमा निर्भरता घटाउने र स्वदेशी विद्युत्को उपयोग बढाउने सरकारी रणनीतिसँगै ईभी बजार विस्तार भइरहेको अवस्थामा जापानी ब्रान्ड सुजुकीको पहिलो पूर्ण विद्युतीय एसयूभी ई–भिटाराको मूल्य घट्नुले बजारमा थप प्रतिस्पर्धा सिर्जना गर्ने अपेक्षा गरिएको छ।
ई–भिटारामा ४४० किलोमिटरदेखि ५४३ किलोमिटरसम्मको ड्राइभिङ रेन्ज, लेभल–२ एडास (ADAS), ५-स्टार सुरक्षा रेटिङ, भेहिकल-टु-लोड (V2L) प्रविधि तथा २७०० एमएम ह्वीलबेसजस्ता विशेषता रहेका छन्। कम्पनीका अनुसार देशभर २५ वटा आधिकारिक बिक्री केन्द्र र ४० वटा सेवा केन्द्रमार्फत बिक्रीपछिको सेवा उपलब्ध हुनेछ।
कम्पनीले हालका लागि सार्वजनिक गरिएको विशेष मूल्य पहिलो १०० बुकिङसम्म तथा सीमित अवधिका लागि लागू हुने जनाएको छ।

