काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घटेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म निफ्राले १६ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.१६ प्रतिशत कम हो। गत वर्षको पहिलो त्रैमासमा बैंकले २० करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
नाफा घट्नुको मुख्य कारण बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको गिरावट देखिएको छ।
समीक्षा अवधिमा निफ्राको खुद ब्याज आम्दानी ७.७३ प्रतिशतले घटेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी ५.५४ प्रतिशतले घट्दा सञ्चालन मुनाफा १९.५० प्रतिशतले खुम्चिएको छ।
यद्यपि बैंकको खुद फि तथा कमिशन आम्दानी भने ५८.४५ प्रतिशतले बढेको छ।
नाफा घटेसँगै प्रतिशेयर आम्दानी (ईपीएस) मा पनि दबाब परेको छ। बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी ७८ पैसाले घटेर ३ रुपैयाँ ८ पैसामा सीमित भएको छ।
असोज मसान्तसम्म निफ्राको प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ ३८ पैसा र मूल्य–आम्दानी अनुपात (पीई रेसियो) ७९.९५ गुणा रहेको छ।
बैंकको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ६७ करोड ३६ लाख रुपैयाँ सञ्चित छ।
समीक्षा अवधिसम्म बैंकले १२ अर्ब ४ करोड ५१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३४ अर्ब १७ करोड ४७ लाख रुपैयाँ कर्जा परिचालन गरेको वित्तीय विवरणमा उल्लेख छ।
पहिलो त्रैमासको नतिजाले निफ्राको कर्जा विस्तार कायम रहे पनि ब्याज आम्दानीमा आएको दबाबले नाफा र प्रतिशेयर आम्दानी कमजोर बनेको देखाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।