शुक्रबार, मंसिर ७,२०८१ 05:42:09
IME remit
  • शुक्रबार, मंसिर ७,२०८१ 05:42:09
IME remit
Global IME Bank Limited

फाइनान्स कम्पनी: को बलियो, को धरासायी ? सेयर लगानीका लागि कुन उपयुक्त ?(टेबलसहित)

Hyundai Nepal
फाइनान्स कम्पनी: को बलियो, को धरासायी ? सेयर लगानीका लागि कुन उपयुक्त ?(टेबलसहित)
Nabil Bank Limited

काठमाण्डौ । सेयर बजार परिसूचक अलटाईम हाईको पुरानो रेकर्ड भत्काउने उकालोतर्फ अग्रसर भइरहँदा बजारमा फाइनान्स कम्पनीहरुको निकै ठूलो चर्चा छ ।  

खराब वित्तीय अवस्थाको नेपाल फाइनान्सको सेयरमूल्य कर्नरिङ गरी प्रतिकित्ता २४६६ रुपैयाँसम्म पुर्याइएपछि र त्यसलाई पछ्याउँदै बाँकी फाइनान्सको मूल्य पनि बढ्न थालेपछि लगानीकर्तामाझ यो समूहको चर्चा चुलिएको देखिन्छ ।  

मुख्य वित्तीय सूचकहरुमा नेप्सेमा सूचीकृत १५ मध्ये अधिकांश फाइनान्सको अवस्था दयनीय देखिन्छ । आर्थिक वर्ष २०८०–८१ को चौथो त्रैमाससम्मको अवस्था हेर्दा केहीबाहेकका फाइनान्स कम्पनीहरुले लगानीकर्ताहरुलाई रिटर्न दिनसक्ने अवस्था छैन । तर, कम कित्ता बजारमा रहेका कम्पनीमा खेलाडीहरु छिर्दा नसोचेको गतिमा मूल्य बढिरहेको छ ।  

Bizshala
Shivam Cement
CG Motors

खेलाडीको कर्नरिङ र अस्वस्थ चलखेलका कारण खराब अवस्थाका कम्पनीको मूल्य बढेर उचाईमा पुग्दा तुलनात्मक रुपमा राम्रो वित्तीय अवस्था भएका कम्पनीका लगानीकर्ताहरु भने पुर्पुरोमा हात राखेर बस्नुपर्ने अनौठो परिस्थिति बनेको छ ।  

बढ्दो बजारमा खेलाडीको ह्वीप, स्वार्थ समूहले चलाउने ह्वीम, आधारहीन हल्ला लगायतका कारण समेत सेयरको मूल्य बढ्ने गर्छ । नेपालमा अहिले ठ्याक्कै त्यस्तै अवस्था देखिन्छ । कुनै खेलाडीले कुनै कम्पनीको सेयरको मूल्य तोकेरै यति पुग्छ भनिदिएपछि सर्वसाधारण लगानीकर्ता त्यसकै पछि दगुर्ने विकृति व्याप्त छ । यहीकारण समेत राम्रा कम्पनीका सेयरधनीहरु दोश्रो बजारमा आफूले होल्ड गरेको सेयरको मूल्य बढ्न नसक्दा निराश देखिने गरेका छन् ।  

पछिल्लो समय सेयर बजारमा यस्तो अवस्था सिर्जना भएको छ कि, वित्तीय सूचक एकातिर, सेयरमूल्य चाहिँ ठीक उल्टोतिर जान थालेको छ । अरुबेला फण्डामेन्टल हेरेर सुरक्षित लगानी गर्नेहरु समेत बिस्तारै जोखिमपूर्ण कम्पनीमा पैसा खन्याएर सर्टटर्ममा राम्रो रिटर्न लिइरहेका छन् ।  

नियामकको कमजोर नियमन, लगानीकर्तामा बजारप्रति पर्याप्त जानकारी तथा अध्ययनको अभाव, सामाजिक सञ्जालहरुको बढ्दो दुरुपयोग र छिटो पैसा कमाइहाल्ने इच्छाशक्ति लगायतका कारण कमजोर कम्पनीहरुमा दैनिकजसो अपर सर्किट लगाउन थालिएको छ । खराब कम्पनीको सेयरमा सर्किट लागेर अरुले कुस्त कमाएको देखेर ‘राम्रा कम्पनीमा लगानी गरेर होल्ड गर्न सके, सेयर बजारले उभो लगाउँछ’ भन्ने भाष्य समेत परिवर्तन हुन थालेको देखिन्छ । स्वस्थ बजारका लागि यस्तो भाष्य निर्माण हुनु भविष्यमा घातक सिद्ध हुनेछ ।  

बजारमा हुने चरम चलखेल र कर्नरिङको खेल हरेक समूहका विभिन्न कम्पनीहरुमा रहेको देखिन्छ । त्यसमा नियामकले छानबिन गर्ने तदारुकता देखाएको छैन ।  

हामीले आज पछिल्लो समय चर्चा पाएको फाइनान्स उपसमूहमा आबद्ध कम्पनीहरुको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको प्रमुख वित्तीय विवरणहरु केलाउने प्रयास गरेका छौं । कतिपय खेलाडीहरुको दाबीलाई पत्याइदिने हो भने फाइनान्स समूहको सूचक यो पटकको बुलमा १० हजार पुग्नेछ । पूरा बुललाई यही सेक्टरले नै लीड गर्ने समेत उनीहरु दाबी गर्छन् ।  

हाम्रो यो प्रयासले स्वस्थ ढंगले बजारमा लगानी गर्छौ भनेर मान्यता राख्नेहरुलाई किनबेचको निर्णय लिन सहज हुने अपेक्षा छ ।  

यस्तै, राम्रो फण्डामेन्टल हेरेर लगानी गर्नेहरुका लागि समेत यो आँकडा र विश्लेषण सहयोगी बन्नसक्छ ।  

कुन फाइनान्स कस्तो ?

कम्पनीहरुले प्रकाशन गरेका आर्थिक वर्ष २०८०-८१ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरणमा आधारित । 

लगानीकर्ताले सेयरमा लगानी गर्नुअघि हेर्ने एउटा महत्वपूर्ण सूचक हो प्रतिसेयर आम्दानी(इपीएस) । आफूले खरीद गरेर राखेको सेयरले प्रतिकित्ता सम्बन्धित अवधिमा कति कमायो भन्ने कुरा इपीएसले देखाउँछ ।  

यस्तै, बैंक तथा वित्तीय संस्थालाई पछिल्लो समय वित्तीय सूचकहरुमा सबैभन्दा बढी हिट गर्ने विषय हो खराब कर्जा अनुपात । नेपालको सन्दर्भमा कर्जाहरु धेरै बिग्रिएर यस्तो अनुपात ५ प्रतिशतभन्दा बढी भएका कम्पनीहरु खराब मानिन्छन् र त्यस्तामा लगानी गर्नु पनि जोखिमपूर्ण । खराब कर्जाको अनुपातलाई हामीले यहाँ एनपीएल भनेका छौं ।  

लगानीकर्ताले कुनै पनि कम्पनीले कति पूँजी परिचालन गरी कति नाफा कमायो भन्ने विषयलाई पनि महत्वका साथ हेर्ने गर्छन् । नाफ नै नकमाउने र घाटा बढ्दै जाने कम्पनी लगानीका लागि जोखिमपूर्ण मानिन्छन् ।  

यी मुख्य विषयमा केलाएर हेर्दा १५ वटा फाइनान्स कम्पनीमध्ये सबैभन्दा बलियो मञ्जुश्री फाइनान्स देखिन्छ ।  

आर्थिक वर्ष ०८०–८१ को चौथो त्रैमाससम्म यो कम्पनीले २५.५८ करोड खूद नाफा कमाएको छ । १३५.१५ करोड चुक्तापूँजी रहेको यो कम्पनीको वार्षिक इपीएस १९.७ रुपैयाँ रहेको छ । खराब कर्जाको अनुपात पनि २.९७ प्रतिशतमा सीमित छ ।

मञ्जुश्री फाइनान्सले १३५.१५ करोड पूँजी परिचालन गरी समीक्षा अवधिमा करिब १९ प्रतिशत नाफा कमाएको यो आँकडाले देखाउँछ ।  

दोश्रो स्थानमा गुड्विल फाइनान्स देखिन्छ ।  गुड्विलको चुक्तापूँजी ९४.६१ करोड रुपैयाँ रहेको छ । चौथो त्रैमाससम्म यो कम्पनीको इपीएस १५.७ रुपैयाँ रहेको छ । नाफा १५ करोड हाराहारीमा कमाएको छ । खराब कर्जा अनुपात भने मञ्जुश्रीको भन्दा निकै बढी ४.८९ प्रतिशत रहेको छ । खराब कर्जाले गुड्विल फाइनान्सलाई खतरा घण्टी बजाइरहेको देखिन्छ । गुड्विलले ९४ करोड ६१ लाख पूँजी परिचालन गरी समीक्षा अवधिमा झण्डै १६.५९ प्रतिशत नाफा कमाएको देखिन्छ ।  

इपीएसको हिसाबले हेर्दा यो सूचीमा गोर्खाज फाइनान्स १२.६ रुपैयाँसहित तेश्रो स्थानमा छ । तर, बाँकी सूचक सन्तोषजनक छैनन् ।  

इपीएस १० रुपैयाँ रहेको आइसीएफसी फाइनान्सको एनपीएल ४.१५ प्रतिशत, नाफा करिब १२ करोड रहेको देखिन्छ । चुक्तापूँजी ११८.३४ करोड रहेको यो कम्पनीको नाफा निकै कम रहेको भए पनि बाँकी कम्पनीहरुसँगको तुलनामा यो संस्था बिग्रिहालेको छैन ।  

इपीएसको हिसाबले श्रीइन्भेष्टमेन्ट, मल्टीपर्पस, रिलायन्स, नेपाल फाइनान्स, गुहेश्वरी मर्चेन्ट र बेस्ट फाइनान्स धनात्मक देखिन्छन् । यीमध्ये रिलायन्स, नेपाल फाइनान्स र गुहेश्वरीको एनपीएल लेभल निकै माथि छ । नेपाल फाइनान्सको त ९.११ प्रतिशत छ ।

प्रोग्रेसिभ फाइनान्स, सेन्ट्रल फाइनान्स, पोखरा फाइनान्स, समृद्धि फाइनान्स र जानकी फाइनान्सको इपीएस नेगेटिभ छ । सबैभन्दा बढी जानकी फाइनान्सको १९.८७ र समृद्धिको ११.५७ रुपैयाँले इपीएस नेगेटिभ रहेको छ ।  

खराब कर्जा अनुपातको हिसाबले हेर्दा बेस्ट फाइनान्स सबैभन्दा राम्रो अवस्थामा छ । यसको खराब कर्जा अनुपात २.८४ प्रतिशत मात्र छ । श्री इन्भेष्टमेन्टको पनि २.८६ प्रतिशत मात्र छ भने मल्टीपर्पसको ४.६ प्रतिशत रहेको छ ।  

यो अवधिमा पोखरा, जानकी र समृद्धि फाइनान्स सबैभन्दा धेरै घाटामा गएका छन् ।  

दोश्रो बजारमा कसको मूल्य चर्को ?

दोश्रो बजारमा अन्तिम कारोबार मूल्यलाई हेर्दा सबैभन्दा बढी नेपाल फाइनान्सको देखिन्छ । यसको दोश्रो बजार अन्तिम कारोबार मूल्य प्रतिकित्ता १८६३ रुपैयाँ रहेको छ ।  

त्यसपछि गुड्विल फाइनान्सको मूल्य प्रतिकित्ता ११११ रुपैयाँ रहेको छ । गोर्खाज फाइनान्सको मूल्य ८९४ रुपैयाँ रहेको छ भने मञ्जुश्रीको मूल्य प्रतिकित्ता ८३२ रुपैयाँ रहेको छ । आइसीएफसीको मूल्य प्रतिकित्ता ८१४ रुपैयाँ रहेको छ ।  

सबैभन्दा कम दोश्रो बजार मूल्य भएका फाइनान्स कम्पनीहरुमा गुहेश्वरी(६५२), बेस्ट फाइनान्स(६५६) र पोखरा फाइनान्स(६६५) रहेका छन् ।  

यसरी प्रमुख वित्तीय सूचकतर्फको प्रदर्शन(प्रगति) र दोश्रो बजार मूल्यबीचको साइनो केलाएर हेर्दा फण्डामेन्टल्ली सबैभन्दा बलियो कम्पनी मञ्जुश्रीको मूल्य अण्डरभ्यालुड देखिन्छ । त्योभन्दा कमजोर गुड्विल फाइनान्सको मूल्य बढेर ११११ रुपैयाँ पुगिसक्दा पनि मञ्जुश्रीको भने ८३२ रुपैयाँकै आसपास अड्किरहेको छ ।  

अझ रोचक त, मञ्जुश्रीको मूल्यभन्दा गोर्खाज फाइनान्सको मूल्य बढी देखिन्छ ।  

यदि कुनै लगानीकर्ताले फाइनान्स कम्पनीमध्ये सबैको सेयरमूल्य जेसुकै कारणले होस्, प्रतिकित्ता १००० माथि पुग्छ भन्ने आत्माविश्वास छ भने तिनीहरुका लागि गुहेश्वरी, बेस्ट फाइनान्स र पोखरा फाइनान्स रोजाईको स्क्रीप्ट बन्नसक्छन् । किनभने यिनीहरुको मूल्य १००० पुग्न अझै बाँकी छ  अर्थात कमाउने प्रशस्त स्पेश छ ।  

फण्डामेन्टल मात्रै हेरेर लगानी गर्छु भन्नेहरुका लागि मञ्जुश्री पहिलो प्राथमिकतामा पर्नसक्छ ।  

गुडविल, आइसीएफसीलाई पनि फण्डामेन्टल हेरेर लगानी गर्नेहरुले रोज्न सक्छन् ।  

अपरेटरहरुले चलाएको स्क्रीप्टमा लगानी गर्छु र जोखिम पनि मोल्छु भनेर कसैले भन्छ भने त उसका लागि जुनसुकै स्क्रीप्ट पनि रोजाई बन्नसक्ला ।  

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.