काठमाण्डौ । नेपाल आयल निगमले माघ ३ गतेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलको प्रतिलिटर ३ रुपैयाँले बढाएको छ ।
यससँगै पहिलो वर्गको पेट्रोलको मूल्य प्रतिलिटर १६२.५० रुपैयाँ, दोस्रो वर्गको १६४ र तेस्रो वर्गको १६५ रुपैयाँ निर्धारण भएको छ । यस्तै डिजेल र मट्टितेलको पहिलो वर्गको मूल्य प्रतिलिटर १५३.५० रुपैयाँ, दोस्रो वर्गको १५५ र तेस्रो वर्गको १५६ रुपैयाँ कायम भएको छ ।
निगमले पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई राखेको छ । यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ र तेस्रो वर्गमा काठमाण्डौ, पोखरा र दिपायल रहेका छन् ।