काठमाण्डौ । दुई पुनर्बीमा कम्पनीको चुक्तापुँजी बृद्धि गर्ने समयावधि थप भएको छ । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको पुष २४ गतेको निर्णयबमोजिम हिमालयन रि इन्स्योरेन्स र नेपाल रि इन्स्योरेन्सको चुक्तापूँजी वृद्धि गर्ने समय थप गरिएको हो ।
प्राधिकरणका अनुसार नेपाल रि र हिमालयन रि ले २०८२ माघ मसान्तभित्र चुक्तापुँजी २० अर्ब रुपैयाँ पुर्याउनुपर्नेछ । दुई पुनर्बीमा कम्पनीले तोकिएको समयभित्र पुँजी पुर्याउन नसक्ने भएपछि प्राधिकरणले पुँजी बढाउनका लागि एक वर्ष म्याद थप गरिदिएको हो ।
तत्कालीन अध्यक्ष सूर्य प्रसाद सिलवालले गत वर्षको माघमा दुई पुनर्बीमा कम्पनीलाई एक वर्षभित्र चुक्तापुँजी २० अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएका थिए । प्राधिकरणले तोकेको समयभित्र दुई कम्पनीको पुँजी २० अर्ब पुर्याउन सम्भावना नदेखिएपछि डेडलाइन थप गरिएको प्राधिकरणका उप–निर्देशक शाम्भाराज लामिछानेले बताए ।
‘दुई पुनर्बीमा कम्पनीले तोकिएको समयभित्र पुँजी पुर्याउन नसक्ने भन्दै बारम्बार समयसीमा थप्नुपर्ने माग गरेबमोजिम नै प्राधिकरणले समय थपेको हो’ उनले भने, ‘हिमालयन रि र नेपाल रि इन्स्योरेन्सले क्यापिट प्लान बमोजिम अबको एक वर्षभित्र न्यूनतम २० अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ ।’
सरकारी स्वामित्वमा रहेको नेपाल रि इन्स्योरेन्सको हकमा सरकारले नै सहमति नदिंदा कम्पनीको पुँजी प्रक्रिया अघि बढ्न नसकेको हो । नेपाल रि मा सरकारको ४४ प्रतिशत सेयर हिस्सा छ । पुँजी बढाउनका लागि कम्पनीले अनिवार्य रुपम सरकारको स्वीकृति लिनुपर्ने हुन्छ । तर सरकारले सहमति दिन र क्यापिटल प्लान अनुसार सहमति प्रदान गर्न नसक्दा कम्पनीको पुँजी बढाउने प्रक्रिया रोकिएको हो ।
तत्कालिन अर्थमन्त्री डा। प्रकाशशरण महतले एक वर्षअघि प्राधिकरणका पूर्वाध्यक्ष सुर्यप्रसाद सिलवाललाई पुँजी बृद्धिको निर्णय नगर्न समेत निर्देशन दिएका थिए । नेपाल रि इन्स्योरेन्सको पुँजी बृद्धिका लागि सरकारले स्रोत जुटाउन नसक्ने भन्दै सिलवाललाई महतले भनेका थिए ।
नेपाल रि को हालको चुक्तापुँजी १३ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । प्राधिकरणले तोकेको पुँजी पुर्याउन कम्पनीले ६ अर्ब ५८ करोड रुपैयाँ जुटाउनुपर्नेछ ।
हमालयन रि को हकप्रद ढिला र रेसियो परिमार्जन हुन सक्ने
हिमालयन रि इन्स्योरेन्सले चुक्तापुँजी बृद्धि गर्ने प्रयोजनकै लागि ८० प्रतिशत हकप्रद निष्कासन गर्ने क्यापिटल प्राधिकरणमा पेश गरेको थियो ।
सोही बमोजिम कम्पनीले तेस्रो वार्षिक साधारण सभाबाटै चुक्तापुँजी १० अर्ब ४० करोडको १०ः८ अनुपातमा ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्ने प्रस्ताव स्वीकृत समेत गरेको थियो ।
तर कम्पनीको हकप्रद तत्कालै नआउने देखिएको छ । प्राधिकरणले चुक्तापुँजी बढाउने समयसीमा थपिदिएपछि कम्पनीको हकप्रद प्रक्रिया लम्बिन सक्ने देखिएको छ ।
हिमालयन रि ले प्राधिकरणसँग स्वीकृति नै नलिई आफुखुशी साधारण सभाबाट हिमालयन रि को प्रस्ताव स्वीकृत गरेको प्राधिकरण स्रोतले जनाएको छ ।
साथै कम्पनीले जारी गर्न लागेको हकप्रदको रेसियो बढी हुनु र हिमालयन रि को प्रिमियम मूल्यको आइपीओ निष्कासन सम्बन्धि अदालतमा मुद्दा परेकाले हकप्रदको प्रक्रिया रोकिएको प्राधिकरणले स्रोतले जनाएको छ ।
‘हिमालयन रि इन्स्योरेन्सको आइपीओ विवाद सम्बन्धि मुद्दा परेकाले प्राधिकरणले हकप्रद प्रस्तावको विषयमा निर्णय नगरेको हो’ प्राधिकरण स्रोतले भन्यो, ‘योसँगै कम्पनीको हकप्रद रेसियो बढी भएकाले प्राधिकरणले स्वीकृति दिन नसकेको हो ।’
प्राधिकरणका अनुसार प्राधिकरणको ८० प्रतिशत हकप्रद सेयर परिमार्जन हुन सक्नेछ । ‘हिमालयन रि इन्स्योरेन्सले ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव प्राधिकरणले स्वीकृत दिन नसकेको हो’ स्रोतले भन्यो, ‘अन्य कम्पनीलाई थोरै र हिमालयन रि लाई मात्रै ८० प्रतिशत हकप्रद सेयर जारी गर्न दिंदा अन्याय हुने देखिएकाले पनि रोकिएको हो ।’
यसअघि लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले पनि चुक्तापुँजीको ८८ प्रतिशत अर्थात् १ः०.८८४५१६८ अनुपातमा हकप्रद जारी गर्न स्वीकृति पाएको थियो । एलआइसी नेपाल मल्टिनेशनल कम्पनी र विदेशी कम्पनीको सहायक कम्पनीको रुपमा रहेकाले ८८ प्रतिशत हकप्रद जारी गर्न स्वीकृति दिइएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार हिमालयन रि इन्स्योरेन्सको हकप्रदको रेसियो परिमार्जन हुन सक्नेछ । ‘हिमालयन रि इन्स्योरेन्सले हकप्रदमार्फत मात्रै तोकिएको पुँजी पुर्याउन मिल्दैन, कम्पनीले बोनस सेयर जारी गरेर थप पूँजी बढाउनुपर्नेछ’ स्रोतले भन्यो, ‘कम्पनीले अघिल्लो आव र गत आवमा उल्लेख्य नाफा कमाएको छ, त्यसबाट कम्पनीले राम्रो बोनस सेयर जारी गरेर पुँजी बढाउन सक्नेछ ।’