काठमाण्डौ । सेयर बजारमा गैरकानूनी हर्कतहरु बढ्न थालेका छन् । निश्चित समूहहरु मिलेर विभिन्न कम्पनीको सेयरहरुमा गैरकानूनी चलखेल गरी दोश्रो बजारको मूल्य बढाउने खेल बाक्लिन थालेका छन् ।
यस्तै हर्कतहरु भइरहँदा नियामक निकायहरु मौन छन् । फ्रन्ट लाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) प्रमुखविहीन भएकै बेला कारोबार प्रणालीमा गैरकानूनी पहुँच स्थापित गरी यस्ता हर्कतहरु बढ्न थालेका देखिएको छ । यस्ता हर्कतहरुप्रति प्रमुख नियामक धितोपत्र बोर्ड विगतदेखि नै उदासीन रहँदै आएको छ ।
यस्तै हर्कतको पछिल्लो उदाहरणका रुपमा न्यादी हाइड्रोपावरको सोमबार भएको सेयर कारोबारलाई लिन सकिन्छ ।
कारोबार प्रणालीको भेण्डर कम्पनी वाइकोसँग मिलेर न्यादी हाइड्रोपावरको सेयरमूल्य बढाउने खेल भइरहेको नेप्सेकै एक कर्मचारीले दाबी गरे । 'पछिल्लो समय वाइकोका केही कर्मचारी र सेयर खेलाडीहरु मिलेर आफूले किनेको सेयरको मूल्य अनधिकृत रुपमा बढाउने र टी प्लस टूको कारोबार प्रणालीलाई उल्लंघन गरी सेटिङमा किनेको एकदिनमै सेयर खातामा पठाउने जस्ता गैरकानूनी हर्कतहरु बढ्न थालेका छन् । हाम्रै हाकिमहरुको मिलेमतोमा यस्तो हुँदैन थियो भने छानबिन हुनुपथ्र्यो ।' -स्रोतले भन्यो ।
सोमबारको सेयर कारोबारका क्रममा बजार बन्द हुँदा न्यादीको सेयरमूल्य अघिल्लो दिनको अन्तिम कारोबार मूल्यको तुलनामा १२ प्रतिशतले बढेपछि सेटिंगमा हुँदै आएका हर्कतहरुको पछिल्लो उदाहरण उदांगिएको हो । कारोबार प्रणालीमा पहुँच भएकैले अधिकतम १० प्रतिशत मात्र मूल्य वृद्धि भई अपर सर्किट लाग्नुपर्ने सेयरको मूल्य १२ प्रतिशतले बढाएका स्रोत दाबी गर्छ ।
न्यादीमा पछिल्लो समय केही खेलाडीहरुको सहभागिता रहेको छ । न्यादीको सेयर थुपारेर मिलेमतोमा मूल्य बढाउने र यसको मूल्य अझै माथि पुर्याउने गरी यस्तो काम भइरहेको स्रोत दाबी गर्छ । 'नभए वित्तीय सूचकहरुमा खासै प्रगति नभएको यो स्टकको मूल्य केही सातामै ३०० बाट ८०० रुपैयाँ प्रतिकित्ता पुग्ने थिएन ।' स्रोतले भन्यो-'एकैदिन १२ प्रतिशत मूल्य बढेको विषय सामान्य त्रुटि होइन । यही ठाउँबाट अनुसन्धान गर्ने हो भने निकै ठूलो खेलको पर्दाफास हुने थियो ।'
नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीले कुनै पनि कम्पनीको मूल्य एक कारोबार दिनमा अधिकतम १० प्रतिशतले बढेपछि अपर सर्किट लाग्नुपर्नेमा १२ प्रतिशतसम्म मूल्य बढेर मात्र के आधारमा न्यादीमा सर्किट लाग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको दाबी गरे ।
वाइकोका एक प्रतिनिधिले १० कित्ताको एउटा कारोबारका कारण मूल्यमा १२ प्रतिशतको बढोत्तरी भएको देखिएको छ । त्यो दश कित्ताको सेयर किन्ने र बिक्री गर्ने ब्रोकरहरुबाट कारोबारको पूरा विवरण मगाएर हेर्ने काम भइरहेको ती प्रतिनिधिले दाबी गरे । 'पुरानो डेटमा राखेको अर्डरमा उल्लेख गरिएको रेञ्जका कारण पनि यस्तो भएको हुनसक्छ । हामी हेरिरहेका छौं ।' ती प्रतिनिधिले भने-'नर्मल अर्डर नभएर बीपीसी अर्डरका कारण यस्तो भएको देखिएको छ । बाँकी कुरा अनुसन्धानपछि नै खुल्छ होला ।'