काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी फागुन ११ गतेदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्ताको १० प्रतिशत अर्थात रु.१०० अंकित दरका २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि,३ प्रतिशतले हुने ६७ हजार ५०० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने १ लाख १२ हजार ५०० कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्टाएको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्काशन बन्द छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २५ गते हुनेछ। यो आईपीओका लागि कम्पनीले केयर रेटिङ नेपालबाट ‘केयर–एनपी–बीबी–(आईएस)’रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्नेमा मध्यम रुपमा सुरक्षित रहेको जनाउँछ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।