काठमाण्डौ । लामो समयदेखि चर्चामा रहेको नयाँ स्टक एक्सचेञ्जको विषय थप पेचिलो र रोमाञ्चक बन्दै गएको छ । अख्तियारदेखि अदालतसम्म पुगेको यो विषयमा पछिल्लोपटक धितोपत्र बोर्डले कुनै पनि निर्णय गर्न सकेको छैन । खासगरि, पछिल्लोपटक धितोपत्र बोर्डका केही कर्मचारीहरुलाई अख्तियारले बोलाएपछि यो विषयका कारण बोर्डमा केही समय पहिले भागाभाग चलेको थियो ।
यसै विषयलाई लिएर एक अधिकारीले राजीनामा दिएर हिडेको स्रोतको दाबी रहेको छ । यसरी यो मुद्दा अख्तिारदेखि अदालसम्म जानुको मुख्य कारण भने तीन समूहबीचको भिडन्त रहेको खुलासा भएको छ ।
नयाँ स्टक एक्सचेञ्जका लागि ३ वटा समूह दौडमा रहेका छन् । जसमा हिमालयन स्टक एक्सचेञ्ज, अन्नपूर्ण स्टक एक्सचेञ्ज र नेशनल स्टक एक्सचेञ्ज रहेका छन् । यी तीन वटै समूहले आफूले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स पाउनुपर्ने दाबी गरेको र शक्ति केन्द्र धाएको कारण नयाँ स्टक एक्सचेञ्जको विषयमा धितोपत्र बोर्डले केही निर्णय गर्न नसकेको त्यहाँस्थित एक स्रोतले जानकारी दियो । स्रोतका अनुसार शक्ति समूहकै भिडन्त र शक्ति केन्द्र धाउने , मुद्दा मामिलामा उत्रने जस्ता कारण हाल धितोपत्र बोर्डका अध्यक्षले यस विषयमा कुनै पनि निर्णय गर्न सकेका छैनन् । खासगरि, नयाँ स्टक एक्सचेज हिमालयन स्टक एक्सचेञ्जले आफूले मात्रै पाउनुपर्ने अडान लिएको तर अन्य बाँकी दुई समूहले पनि दाबी गरेर शक्ति केन्द्र र मुद्दा मामिलामा उत्रदा यो विषय अलपत्र परेको स्रोतले दाबी गर्यो ।
स्रोतले भन्यो, ‘नयाँ स्टक एक्सचेजको विषय उठेको लामो समय भईसक्यो । तर न नयाँ स्टक एक्सचेञ्ज आउन सक्छ । न त यस विषयमा बोर्डले कुनै टुँगो नै लगाउन सकेको छ । यहि कारण धितोपत्र बोर्डका अन्य बिषय समेत ओझेलमा परेका छन् ।’ स्रोतले थप्दै भन्यो, ‘यो विषय बाहेक बोर्डले कमोडिटिज तथा डेरेभेटिभ बजार ब्यबस्थापन , प्राइभेट् इक्विटी भेञ्चर क्यापिटल , मार्जिन ट्रेडिङको कार्यबिधि जस्ता थूप्रै बिषय हाल धितोपत्र बोर्डमा अल्झेल परेका छन् । यी भन्दा अझै महत्वपूर्ण बिषय धितो पत्रबोर्डको ५० करोड भन्दा बढी पैसा आफ्नै भवन निमाणको लागि जग्गा खरिदको गर्न दिएका पैसा फसेको छ ।’
हाल धितोपत्र बोर्ड वार्षिक एक करोड भाडा तिरेर बसेको छ । पाँच वर्ष भाडा तिर्ने पैसाले नयाँ भवन नै बन्छ । तर यी सबै विषय नयाँ स्टक एक्सचेञ्जकै कारण वर्षौदेखि ओझेलमा परेको बोर्डस्थित स्रोतले दाबी गर्यो ।
नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका लागि आवेदन दिएको हिमालयन स्टक एक्सचेञ्ज शंकर ग्रुपअन्तगर्त हालको हिमायल रि इन्स्योरेन्समा लगानी गर्ने व्यापारीहरुको समूहको हो । यो समूहमा दीपक भट्टले बीचौलियाको काम गरेका छन् । दीपक भट्ट लगानी बोर्डका अध्यक्ष शुशिल भट्टका सहोदर भाई हुन् । हिमालयन स्टक एक्सचेञ्जमा शुलभ अग्रवाल, भवानी राणा, शेखर गोल्छा र पशुपति मूरारका रहेका छन् ।
त्यसैगरी, नेशनल स्टक एक्सचेञ्जमा अग्नी ग्रुप र सिद्धार्थ ग्रुप रहेका छन् । यसमा एनआरएनए समूह पनि संलग्न छ । जसमा जीवा लामिछाने, बद्री केसी र कुल आचार्य पनि छन् । यो समूहले पनि नयाँ स्टक एक्सचेञ्जका लागि तीव्र लविङ गरेको थियो ।
अर्को, अन्नपूर्ण स्टक एक्सचेञ्जमा अन्नपूर्ण मिडिया हाउस रहेको छ । यसमा रामेश्वर थापालगायतका सुरेन्द्र वाग्ले, प्रकाश कुमार श्रेष्ठ र गणेशकुमार श्रेष्ठ रहेका छन् ।