काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिको प्रभाव सुन सँगसँगै अब अन्य धातुमा समेत पर्न थालेको छ । ट्रम्पको व्यापार नीतिका कारण मूल्य शिखरमा पुग्ने सुनमात्रै एक्लो धातु होइन ।
यतिबेला तामाको मूल्यले समेत अल टाइम हाईको रेकर्ड चुमेको छ । न्यूयोर्कमा बुधबार तामाको मूल्यले नयाँ रेकर्ड कायम गरेको ब्लूमबर्गले लेखेको छ । ट्रम्पले आगामी साताबाट तामाको आयातमा समेत ट्यारिफ लगाउने सम्भावनाकाबीच तामाको मूल्य नयाँ उचाईमा पुगेको हो । बुधबार वालस्ट्रिट कपर फ्युचरमा तामाको मूल्य प्रतिपाउण्ड ५.३७४ डलर सम्म पुगेको थियो । तर तामाको मूल्य यसदिन प्रति पाउण्ड ५.२४ डलरमा बन्द भएको छ ।
यो वर्ष तामाको मूल्य ३० प्रतिशतले वृद्धि भईसकेको छ । सम्भावित ट्यारिफका कारण अमेरिकी खरिदकर्ताहरुले बिक्री बढाएर स्टक थुपार्न सुरु गरेसँगै तामाको मूल्यमा बढेको जनाइएको छ । तामाको मूल्यवृद्धिले सुनको मूल्यवृद्धिलाई समेत उछिनेको छ । यस वर्ष सुनको मूल्य १६ प्रतिशतले बढेको छ ।
ट्रम्पले हालसम्म तामाको आयातमा ट्यारिफको घोषणा भने गरिसकेका छैनन् । तर गत महिना उनले तामाको आयातले राष्ट्रिय सुरक्षामा निम्त्याउने जोखिमको अध्ययन गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।