काठमाण्डौ । लामो समयदेखि अलपत्र परेका रौतहटका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता अन्त्य गरिएको छ।
पटक–पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत लमाहा खोला पुल, चपुर–सुकदेव चोक–लौकाहा सडक खण्डको लौकाहा खोला पुल तथा महेन्द्र राजमार्गको धनसार–बागमती खण्डको सडक स्तरोन्नति आयोजनाको ठेक्का तोडिएको हो।
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अनुसार यी आयोजनाको बाँकी काम अब नयाँ प्रक्रियाबाट अघि बढाइनेछ।
लमाहा खोला पुल र लौकाहा खोला पुल निर्माणका लागि २०७३ चैत २१ गते पप्पु/शिवशंकर जेभी, गरुडा रौतहटसँग सम्झौता गरिएको थियो। सम्झौताअनुसार दुवै पुल आर्थिक वर्ष २०७५/७६ भित्र सम्पन्न हुनुपर्ने थियो।
तर निर्माण पूरा हुन नसकेपछि पटक–पटक म्याद थप्दै अन्तिम समयसीमा २०८० असार ३० गतेसम्म पुर्याइएको थियो। थपिएको समयभित्र पनि काम सम्पन्न नभएपछि अन्ततः ठेक्का सम्झौता अन्त्य गरिएको हो।
दुवै पुल करिब १० वर्षदेखि अलपत्र रहँदा स्थानीयले आवागमनमा निरन्तर सास्ती व्यहोर्दै आएका छन्।
यस्तै महेन्द्र राजमार्गअन्तर्गत धनसार–बागमती खण्डको सडक स्तरोन्नति तथा पुनर्स्थापना आयोजनाको ठेक्कासमेत रद्द गरिएको छ। गत आर्थिक वर्षभित्रै सम्पन्न हुनुपर्ने उक्त आयोजनामा भौतिक प्रगति शून्य देखिएपछि ठेक्का अन्त्य गर्ने निर्णय गरिएको हो।
सडक डिभिजन चन्द्रनिगाहपुरले पनि तीनवटै ठेक्का सम्झौता अन्त्य गरिएको सम्बन्धमा सार्वजनिक सूचना जारी गरेको छ।
सरकारले रुग्ण अवस्थामा रहेका पूर्वाधार आयोजनालाई लामो समयसम्म ठेक्कामा अड्काएर राख्ने प्रवृत्ति अन्त्य गर्ने नीति लिएको मन्त्री लम्सालले बताएका छन्।
उनका अनुसार निर्माण सम्पन्न गर्ने आधार देखिएका आयोजनालाई अन्तिम मौका दिइनेछ। त्यसपछि पनि काम अघि नबढे ठेक्का तोडेर बाँकी काम नयाँ प्रक्रियाबाट सम्पन्न गरिनेछ।
लामो समयदेखि अलपत्र आयोजनाका कारण नागरिकले भोग्दै आएको सास्ती कम गर्न र पूर्वाधार निर्माणलाई गति दिन ठेक्का व्यवस्थापनमा कडाइ गरिएको मन्त्रालयको भनाइ छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।