काठमाण्डौ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकीसँगको पुरानो सम्बन्ध अन्त्य भएको बताएका छन् । कार्नीले अमेरिकाँग क्यानडाको मौलिक रूपमा अर्थतन्त्रलाई एकीकृत गर्ने, सुरक्षा र सैन्य सहयोगलाई प्रगाढ बनाउनेमा आधारित पुरानो सम्बन्ध समाप्त भएको बताएका हुन् ।
राजधानी ओटावामा मन्त्रिपरिषद्को बैठकपछि उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर लगाउने निर्णयले क्यानाडालीहरूलाई आफ्नो अर्थतन्त्रमा पुनर्विचार गर्न बाध्य बनाउने बताए।
मार्क कार्नीले क्यानडाले प्रतिशोधात्मक ट्यारिफको साथ प्रतिक्रिया दिने र यसका कारण अमेरिकामा अधिकतम प्रभाव पर्ने बताए । ट्रम्पले बुधवार आयातित सवारी साधन र सवारीका पार्टपुर्जामा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए ।
कार्नीले सन् १९६५ मा क्यानडा र अमेरिकाबीच भएको अटोमोटिभ उत्पादन सम्झौतालाई सबैभन्दा महत्त्वपूर्ण सम्झौताको रूपमा वर्णन गरे र यो ट्यारिफसँगै समाप्त भएको बताए।
कार्नीले ट्रम्पको कार्यालयबाट फोन वार्तालापको समय तालिकाको प्रस्ताव आएको छ छिट्टै वार्तालाप हुने सम्भावना समेत भएको जानकारी दिए ।
यदि यस्तो भयो भने, प्रधानमन्त्री बनेपछि कार्नी र ट्रम्पबीच पहिलो पटक फोन वार्ता हुनेछ ।