काठमाण्डौ । ललितपुरको नख्खु, भैंसेपाटीमा सञ्चालनमा रहेको अत्याधुनिक बहुविशेषज्ञ नेपाल मेडिसिटी अस्पताल गम्भीर आर्थिक संकटमा फसेको छ ।
स्थापनाकालदेखि नै लगातार घाटामा सञ्चालनमा रहेको मेडिसिटीको क्यास फ्लो पछिल्लो कालमा बिग्रिएर चौपट बनेको हो । जसका कारण सानातिना भुक्तानीमा समेत सकस पर्न थालेपछि अस्पतालले अभूतपूर्व आर्थिक संकटको सामना गरिरहेको त्यहाँस्थित उच्च स्रोतले जनाएको छ ।
नेपालका धनाढ्यमध्येका एक भनेर चिनिने उपेन्द्र महतोको मुख्य लगानीमा यो अस्पताल सन् २०१७ सेप्टेम्बर १७ बाट सञ्चालनमा आएको थियो । अत्याधुनिक भवन, आधुनिक प्रविधि तथा सुविधाहरुसहित ७५० शैयाको नेपालकै ठूलो यो अस्पताल करिब १० अर्बको लागतमा तयार गरिएको थियो ।
उच्च महत्वकांक्षासहित सञ्चालनमा ल्याइएको अस्पतालले सुरुवाती दिनहरुमा काठमाण्डौका अन्य निजी अस्पतालका राम्रा र नाम चलेका विशेषज्ञ चिकित्सकहरुलाई उनीहरुले काम गरिरहेको ठाउँमा खाईपाई आएको तलब तथा सेवासुविधाको तुलनामा ५ गुणासम्म बढी दिएर ल्याएको थियो । अस्पताल स्थापनालगत्तै राम्रा विशेषज्ञ चिकित्सकहरु राम्रो तलब र आकर्षक सेवासुविधाको पछि लागेर धमाधम मेडिसिटी प्रवेश गर्ने लहर नै चलेको थियो ।
सञ्चालनको केही महिनापछि नै काठमाण्डौको चिकित्सकहरुका लागि आकर्षक कार्यक्षेत्रको रुपमा रहेको मेडिसिटीले प्रारम्भकालमा दिल खोलेर गरेको खर्च धान्न सकस भोग्न थालिसकेको थियो । त्यसपछि बिस्तारै अस्पतालप्रति विशेषज्ञ चिकित्सकहरुको आकर्षण घट्न थालेको थियो ।
राम्रा र नाम चलेका डाक्टरहरुलाई तानेको अस्पतालले सुरुवातका केही महिनामा बिरामीहरुमाझ पनि अलग्गै परिचय बनाएको थियो । अत्याधुनिक र अन्तराष्ट्रियस्तरको अस्पतालको रुपमा प्रचार गरी बिरामीहरु धमाधम ताने पनि उच्च शुल्कका कारण बिस्तारै यो अस्पताल निम्न र मध्यम वर्गका लागि महङ्गो बन्न थाल्यो । यसको प्रत्यक्ष असर यसको विजिनेशमा पर्न थाल्यो।
आर्थिक रुपमा कमजोर बन्दै गएको अस्पताललाई व्यवसायी उपेन्द्र महतोले गोजीको पैसा हाल्दै केही वर्ष डोहोर्याए पनि अब भने निकै अप्ठ्यारो अवस्थामा पुगेको स्रोतको दाबी छ ।
मेडिसिटीको आर्थिक अवस्था जर्जर बनेपछि र विजिनेश पनि निरन्तर घट्न थालेपछि व्यवसायी महतोको सातै प्रदेशमा अत्याधुनिक अस्पताल बनाउने सपनामा समेत ब्रेक लागेको मेडिसिटीको उच्च व्यवस्थापनमा कार्यरत एक अधिकारीले दाबी गरे ।
ती अधिकारीका अनुसार पछिल्लो समय अस्पतालले विशेषज्ञ चिकित्सक र कर्मचारीहरुलाई नियमित तलब, पारिश्रमिक, उनीहरुले पाउने कमिसनको भुक्तानी समेत नियमित रुपमा दिन छाडेको छ। यहीकारण कतिपय नाम चलेका कुशल विशेषज्ञ चिकित्सकहरुले अस्पताल छाड्ने मनस्थिति बनाएका स्रोतको दाबी छ ।
आर्थिक रुपमा चौपट बनेको अस्पतालको व्यवस्थापन लथालिंग बनेको र चिकित्सकसहितका कर्मचारी समेत असन्तुष्ट भएपनि समस्या समाधानमा पछिल्लो समय उपेन्द्र महताले पनि चासो दिन छाडेका छन् ।
अस्पतालको क्यास फ्लो बिग्रिएपछि विभिन्न बैंकबाट लिएको ऋणको साँवाब्याज समेत भुक्तानी गर्न सकेको छैन । तर, व्यवसायी उपेन्द्र महतोले विभिन्न बैंकका सञ्चालक र उच्च व्यवस्थापनलाई प्रयोग गरेर ऋणको साँवाब्याज भुक्तानीको समय सार्ने गरेका छन् । कतिपय लोनमा इभरग्रिनिङ तथा कतिपयको पुनरसंरचना गर्दै ऋण तिर्ने भाखा सार्ने गरिएको छ ।
केही महिनाअघि महतोले हिमालयन बैंकबाट लिएको ऋणको साँवाब्याज १ वर्षसम्म नबुझाएको प्रकरण नेपालका व्यापारीहरुमाझ चर्चित बनेको थियो । एक पत्रकारले यो विषयको सूईँको पाएपछि महतोलाई जानकारी दिएका थिए । महतोले यो विषय बाहिरिने डरले करिब १ अर्ब रुपैयाँ बराबरको हिमालयन बैंकको लोनको तत्काल सेटलमेन्ट गराउनुपरेको थियो ।
कस्तो हो मेडिसिटी अस्पताल ?
अस्पतालको वेबसाइटमा लेखिएअनुसार यो अस्पतालमा ७५० शैयाको क्षमता रहेको छ, जसले नेपालकै सबैभन्दा ठूलो निजी सुपर-स्पेशालिटी अस्पतालको रूपमा परिचित बनाएको छ। अस्पतालमा १७ वटा अत्याधुनिक अपरेशन थिएटरहरू, ६० भन्दा बढी विशेषज्ञ बाहिरा बिरामी विभाग (OPD), र ७५ भन्दा बढी सघन उपचार शैयाहरू (ICU) रहेका छन्। साथै, अस्पतालमा हेलीप्याड सुविधा समेत उपलब्ध छ, जसले आकस्मिक अवस्थामा छिटो उद्धार सम्भव बनाउँछ।
नेपाल मेडिसिटी अस्पतालले कार्डियोलोजी, क्यान्सर उपचार, न्यूरोसर्जरी, मिर्गौला प्रत्यारोपण, स्त्रीरोग, बालरोग, ग्यास्ट्रोएन्टेरोलोजी, फिजियोथेरापी, पुनर्स्थापना सेवा, र आपतकालीन चिकित्सा सेवा जस्ता विविध क्षेत्रहरूमा विशेषज्ञ सेवा प्रदान गर्दछ। अस्पतालमा ३.० टेस्ला MRI, १२८ स्लाइस CT स्क्यान, ECMO, क्याथ ल्याब, र अत्याधुनिक ल्याब सुविधाहरू जस्ता नवीनतम प्रविधिहरू प्रयोगमा ल्याइएका छन्।
नेपाल मेडिसिटी अस्पतालले अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आएको छ, जसले गर्दा यो अस्पताल स्वास्थ्य उपचारको लागि एक प्रमुख गन्तव्यको रूपमा परिचित भएको छ। अस्पतालले "सुरक्षित र प्रमाणमा आधारित चिकित्सा" अभ्यास गर्ने लक्ष्य राखेको छ, जसले बिरामीहरूलाई उच्च गुणस्तरीय सेवा प्रदान गर्न मद्दत गर्दछ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                         
                                        .jpg) 
                                         
                                        .jpeg) 
                                         
                 
                 
                 
                 
                 
                 
                