काठमाण्डौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई प्रत्यक्ष धम्की दिएका छन् । पुटिनले समझादारीको माध्यमबाट युक्रेनमा युद्ध अन्त्य गर्ने मौका रहेको र आफूले त्यसलाई प्राथमिकता दिने बताएका छन् ।
तर आवश्यक परे बल प्रयोग गरेर भएपनि युद्ध अन्त्य गर्न आफू तयार रहेको समेत उनले बताएका छन् । पुटिनले आफ्नो चीन भ्रमणको अन्त्यमा यस्तो टिप्पणी गरेका हुन्। पुटिनले रुस र युक्रेनबीच चलिरहेको युद्ध रोक्न अमेरिकाको प्रयासलाई इमानदार भएको बताए ।
पुटिनले युद्ध अन्त्य गर्ने प्रयासका बारेमा आशा व्यक्त गर्दै भने, ‘मलाई लाग्छ सुरुङको अन्त्यमा निश्चित रुपमा प्रकाश छ। हेरौं अवस्था कसरी विकास हुन्छ। यदि त्यसो हुन सकेन भने हामीले हाम्रा सामु रहेका सबै चुनौतीलाई हतियारको बलबाट समाधान गर्नुपर्छ ।’
यद्यपि, पुटिनले लामो समयदेखि चलिरहेको युद्ध हुनुको प्रमुख कारण युक्रेनले नाटोमा समावेश हुने विचार त्याग्नु पर्ने बारे भने केहिपनि नरमपन देखाएनन् । पुटिनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की वार्ताका लागि मस्को आए भने उनीसँग वार्ता गर्न तयार रहेको पनि बताए । तर, यो भेट कति सार्थक हुन्छ त्यो भने हेर्न बाँकी छ ।
उनले राष्ट्रपतिमा जेलेन्स्कीको निरन्तरता अवैध रहेको दोहोर्याए। रुसले जेलेन्स्कीको आधिकारिक कार्यकाल सकिएको र मार्शल लका कारण चुनाव हुन नसकेको बताउँदै आएको छ ।
उता कीभले यी आरोपहरूलाई अस्वीकार गर्दै युद्धकालमा चुनाव गराउन असम्भव रहेको जनाएको छ ।