काठमाण्डौ । एक पब्लिक कम्पनीका सर्वसाधारण सेयरधनीलाई प्रभावशाली सेयरधनीहरुको समूहले बिक्रीमा आएको संस्थापक सेयर खरिद गर्न नियोजित ढंगले रोकेको पाइएको छ ।
वीरेन्द्रप्रसाद महतो अध्यक्ष रहेको सोपान मल्टिपल कम्पनी लिमीटेडले केही संस्थापक सेयरधनीहरुले बिक्री गर्न खोजेको ३ लाख ३ हजार ४२६ कित्ता सेयर खरीद प्रक्रियामा समयमै रीतपूर्वक आवेदन दिएका एक सेयरधनीलाई बदनियतपूर्ण ढंगले मागेको सेयर नदिई बद्मासी गरेको पाइएको हो ।
सोपान मल्टिपल कम्पनी विभिन्न क्षेत्रमा लगानी गर्ने उद्देश्यले स्थापना भएको इन्भेष्टमेन्ट कम्पनी हो । यो कम्पनीकै मुख्य लगानी रहेको सोपान फर्मास्यूटिकल्सले आईपीओ निश्कासनको तयारी गरिरहको छ । सोपान मल्टिपल समेत भविष्यमा आईपीओमा जाने योजनामा छ ।
सोपान मल्टिपल कम्पनीले २०८१ चैत १३ गते तुलनात्मक रुपमा कम पढिने एक आर्थिक पत्रिकामा संस्थापक सेयर बिक्रीको सूचना अत्यन्त सानो साइजमा प्रकाशन गरेको थियो । कम्पनीले भरसक धेरैले त्यो सूचनामा आँखा नलगाउन् र कानूनी औपचारिकता पूरा होस् भन्ने उद्देश्यले त्यसो गरेको स्रोतको दाबी छ ।
सो दिन सोपान मल्टिपल कम्पनीको केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा कायम प्रतिसेयर चुक्तामूल्य रु. १०० रहेको संस्थापक सेयर बिक्री गर्न सो कम्पनीको सञ्चालक समितिमा आवेदन पेश गरेका उल्लेख गर्दै संस्थापक सेयर खरीद तथा बिक्री गर्दा विद्यमान संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिनुपर्ने भन्दै इच्छुक सेयरधनीलाई सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन भनिएको थियो ।
सो सूचना प्रकाशन भएको सूइँको पाएपछि सो कम्पनीको सेयरधनी नम्बर १०५ का सेयरधनी पार्वती कट्वालले समयमै बिक्रीमा ल्याइएकोमध्ये ४५ हजार कित्ता सेयर खरीद गर्ने इच्छा व्यक्त गर्दै चैत २७ गते आवेदन पेश गरेकी थिइन् ।
त्यसपछि कट्वाल नियमित रुपमा आफूले संस्थापक सेयर खरीदका लागि आवेदन दिएको कम्पनीमा अरु कतैबाट आवेदन परे नपरेको विषयमा बुझ्न नियमित रुपमा कार्यालय पुगेकी थिइन् । पटक पटक आफू वा आधिकारिक प्रतिनिधिलाई कार्यालयमा पठाउँदा सोपानका कर्मचारी रमेश मल्लले कम्पनीमा ७० हजार कित्ताका लागि मात्र अरुबाट आवेदन आएको बताएका कट्वालका पति सुनिल बस्नेतले जानकारी दिए । उनले १५ दिनको समयसीमाभित्र ७० हजार कित्ताका लागि मात्र थप आवेदन आएको र आफूहरुले गरेको आवेदनअनुसार ४५ हजार कित्ता पाउने सुनिश्चित भएको बताएका थिए । मल्लले पीडित सेयरधनीलाई सो बेला अरुतिरबाट ७० हजार कित्ताका लागि मात्र आवेदन परेको भन्दै बताएको अडियो रेकर्ड समेत बिजशालाको सम्पर्कमा आएका पीडितहरुले सुनाएका छन् ।
सो क्रममा समयमै आवेदन दिएको र सबै कित्ता बिक्री नभएको अवस्थामा समेत आफूहरुले मागेको कित्ता सेयर किन नपाएको भन्ने प्रश्न गर्दा मल्लले कम्पनी सचिव सुमनप्रसाद रिजालसँग बुझ्न भनेका पीडितको भनाई छ ।
त्यसपछि पीडितले पटक पटक सुमनप्रसाद रिजाललाई तागेता गर्दा यो वा त्यो बाहाना गरेर आफूहरुले खरीद गर्न चाहेको ४५ हजार कित्ता सेयर नदिएको गुनासो छ । हालसम्म उनीहरुले ४५ हजार कित्ता त के, एकै कित्ता सेयर पनि कम्पनीबाट पाएका छैनन् ।
आफूहरुले सबै रीत पुर्याई दिएको आवेदनको कार्यान्वयन हुनुपर्ने र समयमै परेको आवेदनबापतको ४५ हजार कित्ता सेयर पाउनुपर्ने माग राख्दै पटक पटक सोपान मल्टिपल कम्पनीका विभिन्न अधिकारीहरुलाई भेट गरी गुनासो गर्दा समेत समस्याको सम्बोधन नभएको दाबी गरेका छन् । बस्नेतले सोपान मल्टिपल लिमीटेड वार्षिक रुपमा राम्रो रिटर्न दिने कम्पनी भएका कारण औपचारिकताका लागि सूचना निकालेर बिक्रीमा आएको सेयर आफूहरुलाई नदिई त्यहाँका ठूला सेयरधनीले हाइज्याक गरेका दाबी समेत गरेका छन् ।
अनेकन प्रयास गर्दा र कयौंपटक धाउँदा समेत पार नलागेपछि र आफूहरु पहुँचविहीन भएकै कारण पाउनुपर्ने सेयर नपाएपछि अन्याय भएको महसुस गर्दै न्यायका लागि अदालत जाने पीडितले तयारी गरिरहेका समेत जानकारी दिए । 'हामीले द्वन्द्व नगरौं भन्ने नै चाहेका थियौं, तर कम्पनीको तर्फबाट हामीलाई रीतपूर्वक दिइनुपर्ने सेयर हस्तान्तरण नगरी अल्झाउने काम भयो । त्यसैले न्यायका लागि अदालत जानुको विकल्प भएन ।' सुनिलले बिजशालासँग भनेका छन्ः 'हामीले न्याय नपाएको विषय मात्र होइन, सोपान मल्टिपल कम्पनीभित्र पछिल्लो समय विकृतिहरु धेरै बढेका छन् । यसको पनि कानूनी निरुपण खोज्नेछौं । यो घटनाले राम्रो अवस्थामा पब्लिक कम्पनीहरु कब्जा गर्न ठूला सेयरधनीले सानालाई ठूलो माछाले सानो माछा खाएजस्तै गरी कुन हदसम्मको अन्याय गर्छन् भन्ने पनि देखाउनेछ ।'
पीडित सेयरधनीले आफूहरुमाथि भएको अन्यायको विषय हालै सम्पन्न सोपान मल्टिपटल कम्पनीको वार्षिक साधारणसभाको हलमै समेत प्रस्तुत गरेका थिए । तर, कम्पनीको सर्वोच्च निकाय एजीएममा समेत उच्चपदस्थहरुले आफूलाई बोल्न नदिएको र यस्तो विषय यहाँ नगर्न भन्दै सुनुवाई नगरेको बस्नेतको गुनासो छ।
यस विषयमा सोपान मल्टिपल लिमीटेडका कम्पनी सचिव सुमनप्रसाद रिजालसँग बुझ्न खोज्दा उनले फोन उठाएनन् ।