काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.६७ प्रतिशत अर्थात १६.६७ अंकले बढेर २ हजार ५०३.८५ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५३ प्रतिशतले बढेर ४३७.६० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृतमध्ये ३२३ वटा स्क्रिप्टको ६१ लाख ९९ हजार ९२९ कित्ता सेयर २ अर्ब ७९ करोड ११ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
आजको बजारबारे बजार जानकार प्रकाश रजौरे भन्छन्, ‘सेयरबजार घट्नुपर्ने त्यस्तो कारण छैन, सबै पक्ष सकारात्मक नै छ । केही दिनदेखि नेपाल स्टक एक्सचेञ्ज र नेपाल धितोपत्र बोर्डका कर्मचारीरु आन्दोलित हुनु र देशको अस्थिर राजनीतिकका कारण बजार घटेको थियो । धितोपत्र बोर्ड र नेप्सेका कर्मचारी आन्दोलनमा उत्रिएपनि कर्मचारीको सुविधाको विषयमा मात्रै आवाज उठाएका र बजारमा भइरहेको गतिविधिमा केही चासो नराखेकाले पनि बजार माथि जान सकिरहेको छैन । नियामकले बजार मोनिटरिङ गरिरहेको देखिँदैन । लगानीकर्ताहरुले लगातार पूँजीबजार सुधारको लागि मागहरु राखेर बोर्डलाई अल्टिमेटम नै दिएको छ । लगातार घटेको बजार आज बटम जोनदेखि माथि जान लागेको जस्तो देखिएको हो । सम्भवतः तिहारपछि बजारले लय समात्ने देखिन्छ।’
त्यस्तै, अर्का बजार जानकार दामोदर गजुरेल भन्छन्, ‘आज बजार दोहोरो अंकले बढेपनि कारोबार न्यून छ । यस्तो बजारलाई बढेको मानिदैन, बजार बटम जोनमै छ । कारोबार रकम धेरै कम भएको तर बजार सामान्य अंकले बढेको छ भने त्यस्तो बजारलाई ‘फल्स ब्रेक आउट’ भन्न सकिन्छ ।'
साथै अस्थिर राजनीतिक पक्षले लगानीकर्ताहरुमा मनोबल बढ्न सकिरहेको छैन । लगानीकर्ताहरु अझैपनि पर्ख र हेरको अवस्थामा छन् । अब यो भन्दा अझै तल नजाने आशामा लगानीकर्ता रहेका उनको भनाई छ ।
आज के-के भयो बजारमा ?
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज अन्य समूह सर्वाधिक अर्थात १.१६ प्रतिशतले बढ्यो ।
यस्तै आज बैंकिङ समूह ०.८७, फाइनान्स ०.५१, होटल ०.७२, हाईड्रो ०.७०, लगानी ०.७५, जीवन बीमा ०.३३, उत्पादन तथा प्रशोधन ०.९०, लघुवित्त ०.४७ र व्यापार समूह ०.९० प्रतिशतले बढ्यो ।
आज विकास बैंक समूह, म्युचुअल फण्ड र निर्जीवन बीमा समूहमा गिरावट आयो । यी समूहहरु क्रमशः०.२१, ०.१३ र ०.३४ प्रतिशतले घटे ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २८ करोड १० लाख बढीको कारोबार भयो । हिमालयन डिष्ट्रलरीको पनि आज २५ करोड ३६ लाख, युनियन हाईड्रोको १६ करोड ९७ लाख, सीईडिबि होल्डिङको ९ करोड २१ लाख र हिमालयन रि इन्स्योरेन्सको ९ करोड बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज आत्मनिर्भर लघुवित्त, हिमालयन पावर पाटर्नर र भगवती हाईड्रोपावरको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
यस्तै एशियन हाईड्रोपावर, अभियान लघुवित्त, युनियन हाईड्रोपावर, अपर स्याङ्गे हाईड्रोपावर र युनिक नेपाल लघुवित्तको सेयरमूल्य ४.३४ प्रतिशतले बढ्यो ।
यो दिन कालिका लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ३.९४ प्रतिशतले घट्यो । नेपाल माईक्रो इन्स्योरेन्सको सेयरमूल्य पनि आज ३.७० र मुक्तिनाथ विकास बैंकको ३.४२ प्रतिशतले घट्यो।