काठमाण्डौ । अब भारतमा यात्रुवाहक विमान निर्माण हुने भएको छ । हिन्दुस्तान एरोनटिक्स लिमिटेड (एचएएल) र रुसी पब्लिक ज्वाइन्ट स्टक कम्पनी युनाइटेड एयरक्राफ्ट कर्पोरेशनबीच यात्रुवाहक विमान एसजे–१०० निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
रुसको राजधानी मस्कोमा सोमबार सो सम्झौतामा हस्ताक्षर भएको हो । एचएएलले यस सम्बन्धमा विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । विज्ञप्तीमा भनिएको छ, ‘एसजे–१०० एउटा ट्विइन इन्जिन र सानो आकारको विमान हो। हालसम्म २ सय भन्दा बढी विमानहरू निर्माण भइसकेका छन् र १६ भन्दा बढी एयरलाइन्सद्वारा संचालित छन् । ूउडान योजना अन्तर्गत एसजे–१०० भारतमा छोटो दुरीको उडानका लागि गेम चेन्जर साबित हुनेछ। यो सम्झौता अन्तर्गत एचएएलले आन्तरिक यात्रुहरूका लागि एसजे–१०० विमान निर्माण गर्ने अधिकार प्राप्त गर्नेछ।’
एचएएलले भारतमा पहिलो पटक यात्रुवाहक विमान पूर्णरुपमा भारतमै निर्माण हुने बताएको छ । यसअघि एचएएलले सन् १९६१ मा एभरो एचएस–७४८ विमान निर्माण गर्न थालेको थियो भने सन् १९८८ मा निर्माण रोकिएको थियो ।

