काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङले पदबाट राजीनामा दिएका छन् ।
कम्पनीको सञ्चालक समितिले हुआङको राजीनामाबारे जानकारी दिँदै कोलेट क्रेसलाई अन्तरिम सीईओको जिम्मेवारी दिइएको जनाएको हो । क्रेस यसअघि कम्पनीको कार्यकारी उपाध्यक्ष तथा प्रमुख वित्तीय अधिकृत (सीएफओ)का रूपमा कार्यरत थिइन् ।
अन्तरिम सीईओको जिम्मेवारी पाएपछि क्रेसले एनभिडियालाई तीव्र गतिको कम्प्युटिङ (एक्सेलेरेटेड कम्प्युटिङ) र कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा अग्रणी बनाउने कामलाई निरन्तरता दिने बताएकी छन् ।
उनले भनिन्, ‘हामी एनभिडियालाई एक्सेलेरेटेड कम्प्युटिङ र एआई क्षेत्रमा अग्रणी कम्पनी बनाउने कामलाई अगाडि बढाउनेछौँ र आगामी अवसरहरूको पूर्ण उपयोग गर्नेछौँ ।’
हुआङको राजीनामाको घोषणा गर्दै कम्पनीको सञ्चालक समितिले प्रमुखका रूपमा उनले पुर्याएको योगदानको प्रशंसा गरेको छ । साथै, कम्पनी र समग्र प्रविधि उद्योगमा पुर्याएको अतुलनीय योगदानका लागि हुआङलाई धन्यवाद दिएको छ ।
कम्पनीले जारी गरेको विज्ञप्तिमा एनभिडियाको विकास र सफलतामा हुआङको योगदान अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गरिएको छ । एनभिडिया विश्वकै महत्त्वपूर्ण प्रविधि कम्पनीमध्ये एक बन्नुमा उनको भूमिका निर्णायक रहेको कम्पनीको भनाइ छ ।
को हुन् अन्तरिम सीईओ कोलेट क्रेस ?
कोलेट क्रेस सन् २०१३ को सेप्टेम्बरमा एनभिडियामा आबद्ध भएकी थिइन् । त्यसयता उनले कम्पनीको कार्यकारी उपाध्यक्ष तथा प्रमुख वित्तीय अधिकृत (सीएफओ)को जिम्मेवारी सम्हाल्दै आएकी छन् ।
कम्पनीको सञ्चालक समितिका अनुसार उनले एनभिडियाको वित्तीय विभागको नेतृत्व गर्नुका साथै कम्पनीको विकास र रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी छन् ।
एनभिडियामा आबद्ध हुनुअघि क्रेसले सिस्को र माइक्रोसफ्टलगायत प्रमुख प्रविधि कम्पनीहरूमा वित्तसम्बन्धी विभिन्न पदमा रहेर करिब २५ वर्ष काम गरेकी थिइन् ।
अन्तरिम सीईओ बनेपछि क्रेसले एनभिडियाको सबैभन्दा ठूलो शक्ति उसका कर्मचारी रहेको बताएकी छन् । उनले नेतृत्व टोलीसँग मिलेर हुआङले ३३ वर्षमा निर्माण गरेको बलियो आधारलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
उनले ग्राहक, साझेदार, विकासकर्ता र सेयरधनीको हितलाई केन्द्रमा राखेर कम्पनीका गतिविधि अघि बढाउने पनि बताएकी छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।