काठमाडौं । दीपावली सकिएसँगै आजदेखि सुरु भएको छठ पर्वको तयारीले महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ । चार दिनसम्म मनाइने पर्वका लागि स्थानीयवासी छठघाट निर्माण, सरसफाइ, सजावट तथा पूजासामग्रीको व्यवस्थापनमा जुटेका छन् ।
छठको आगमनसँगै मिथिलाका घरघरमा सूर्यदेव र षष्ठीदेवीको महिमा गाइने भक्तिगीत गुञ्जिन थालेका छन् । नदी, पोखरी तथा धार्मिक महत्त्वका जलाशयमा छठघाट निर्माण र सरसफाइ भइरहेको छ । सडक, घर तथा सार्वजनिक स्थलमा बत्ती जडान गरी सजाउने कामसमेत भइरहेको छ ।
पर्वका लागि आवश्यक केराका घरी, उखु, अदुवा, बेसार, ज्यामिरलगायत पूजासामग्रीको बिक्री बढेको छ । बाँसका ढकी, डलिया, कोनियाँ तथा माटाका दियो, गाग्री र अन्य भाँडाकुँडा किन्नेको पनि बजारमा भीड लागेको छ ।
घरघरमा ठकुवा, भुसुवालगायत छठको प्रसाद बनाउने चटारो छ । शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिइने भएकाले गृहिणीहरू चामल तथा गहुँको पिठो तयार पार्नेदेखि प्रसाद बनाउने काममा व्यस्त छन् ।
मिथिला क्षेत्रमा कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ मनाइन्छ । पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि पर्व सम्पन्न हुन्छ ।
छठ पर्वमा जातीय तथा सामुदायिक विभेद बिर्सेर सबै एकै ठाउँमा भेला भई सूर्यदेवको आराधना गर्ने परम्परा छ । आस्था, निष्ठा र सामाजिक सद्भावको प्रतीकका रूपमा रहेको यस पर्वले आपसी एकता र सहयोगको भावना बलियो बनाउने विश्वास गरिन्छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।