काठमाण्डौ । घरभाडा, आवासको मूल्य र जीवनयापनको खर्च बढ्दै गएपछि स्पेनमा बुधबार देशव्यापी आमहडताल तथा प्रदर्शन भएको छ। सुलभ आवासको माग गर्दै सडकमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच राजधानी म्याड्रिड तथा बार्सिलोनामा झडप भएको हो।
अधिकारीहरूको अनुमानअनुसार म्याड्रिडमा करिब एक लाख २० हजार र बार्सिलोनामा ५५ हजार मानिस प्रदर्शनमा सहभागी भए। भारी वर्षाका बाबजुद यी दुई सहरमा मात्रै करिब पौने दुई लाख मानिस सडकमा उत्रिएका थिए। देशका अन्य सहरमा पनि प्रदर्शन भएको थियो।
स्पेनका दुई प्रमुख श्रमिक संगठन युजिटी र सीसीओओसहित अन्य श्रमिक तथा भाडावालाका संगठनले हडताललाई समर्थन गरेका थिए। यी दुई ठूला श्रमिक संगठनले संयुक्त रूपमा समर्थन गरेको यो १४ वर्षयताको पहिलो आमहडताल हो। बढ्दो भाडा र घरबाट निष्कासनका घटनाविरुद्ध श्रमिक तथा आवास अधिकारका समूहले दबाब बढाएका हुन्।
र्यालीपछि झडप बार्सिलोनामा १८ जना पक्राउ
म्याड्रिड र बार्सिलोनामा र्यालीपछि मास्क तथा हुड लगाएका केही समूहले प्रहरीमाथि वस्तु प्रहार गर्नुका साथै फोहोरका डब्बामा आगजनी गरेका थिए। ती समूहलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र रबरका गोली प्रयोग गरेको थियो। बार्सिलोनामा १८ जना पक्राउ परेका छन्।
हडतालले सार्वजनिक यातायात तथा केही व्यावसायिक गतिविधिमा असर पारेको थियो। विशेषगरी बार्सिलोना र आसपासका क्षेत्रमा रेल, मेट्रो तथा बस सेवा प्रभावित भएका थिए।
हडतालको प्रभावबारे श्रमिक र रोजगारदाता संगठनले फरक दाबी गरेका छन्। युजिटीले ठूलो सहभागिता भएको भन्दै हडताल सफल भएको जनाएको छ। रोजगारदाता संगठन सीईओईले भने अधिकांश क्षेत्रमा कामकाज सामान्य रहेको दाबी गरेको छ। श्रमिक संगठनले पनि सबै क्षेत्रमा सहभागिता समान नरहेको स्वीकार गरेका छन्।
निर्वाचनअघि चर्कियो आवासको मुद्दा
आवास संकटले स्पेनको चुनावी राजनीतिलाई समेत प्रभावित गरेको छ। घरबाट निष्कासन रोक्ने र भाडाको दबाब घटाउने सरकारी प्रस्ताव संसद्बाट अस्वीकृत भएपछि प्रधानमन्त्री पेड्रो सान्चेजले मध्यावधि निर्वाचन घोषणा गरेका थिए। प्रदर्शनकारी तथा श्रमिक नेताहरूले आवास संकटको जिम्मेवारी केन्द्रीय सरकार र क्षेत्रीय तथा स्थानीय नेतृत्वले लिनुपर्ने बताएका छन्।
स्पेनको आधिकारिक राजपत्रअनुसार अक्टोबर ५ मा संसद्का दुवै सदन विघटन गर्दै नोभेम्बर २९ का लागि निर्वाचन घोषणा गरिएको थियो। मतदानको तीन साताभन्दा कम समय बाँकी रहँदा भएको आमहडतालले सुलभ आवास र जीवनयापनको खर्चलाई चुनावी बहसको केन्द्रमा ल्याएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।