काठमाण्डौ । भैरहवाको लुम्बिनीमा अवस्थित एशियन होटलले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्तावसहित साधारण सभा डाकेको छ । कात्तिक ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी मंसिर ३ गतेका लागि साधारण सभा डाकेको हो ।
सभा रुपन्देहीमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।
सभामा हकप्रद सेयर निष्कासन गर्ने, हकप्रद सेयर निष्कासनका आधारमा हुने पूँजीको आधारमा सञ्चालक समितिको प्रस्ताव बमोजिम कम्पनीको अधिकृत,चुक्ता र जारी पूँजी र चुक्तापूँजी तथा पूँजी संरचना, संस्थापक तथा सर्वसाधारण समूहको सेयर संरचनामा हेरफेर गर्ने र हकप्रद सेयर निष्कासनपश्चात कायम पूँजीको आधारमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा हकप्रद सेयर र आईपीओ निष्कासनका सम्बन्धमा गर्नुपर्ने कार्यहरु तथा साधारण सभाबाट भएका निर्णयको कार्यान्वयनका लागि आवश्यक कुनै थप निर्णय गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र कम्पनी पब्लिक लिमिटेडमा परिणत भएपश्चात कम्पनीको सञ्चालक समितिबाट भएका निर्णयहरु अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदत तथा वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।
कम्पनीले आईपीओ निष्कासनका लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक समेत नियुक्त गरिसकेको छ । कम्पनीले ३५ लाख कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गर्ने तयारी थालेको छ । यो होटल सन् २०२१ मा स्थापित भएको हो ।

