काठमाण्डौ । नगरकोट रिसोर्ट लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र राउत क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८/८२ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण पारित गरेको छ ।
गत आर्थिक वर्षमा रिसोर्टले रु. ४ करोड ८५ लाख कारोबार गर्दै रु. ५५ लाख खुद नाफा आर्जन गरेको छ । हाल रिसोर्टले २४ कोठाबाट सेवा प्रदान गर्दै आएको छ र दोस्रो चरण अन्तर्गत नयाँ भवन, स्पा र सम्मेलन कक्ष निर्माण कार्य तीव्र गतिमा अघि बढाइरहेको छ ।
अध्यक्ष क्षेत्रीले कम्पनीले छोटो अवधिमै उल्लेखनीय प्रगति गरेको र नगरकोट रिसोर्टलाई नेपालको अग्रणी पर्यटन गन्तव्यको रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले रिसोर्टले दीगो पर्यटन, स्थानीय सहकार्य र उच्चस्तरीय आतिथ्य विस्तारलाई आगामी वर्षको प्राथमिकतामा राखेको जानकारी दिए ।
कम्पनीले आईपीओ जारी गर्ने तयारी गरिरहेको छ र यसकालागि केयर रेटिङ नेपाल लिमिटेडबाट ‘डबल बी’ रेटिङप्राप्त गरिसकेको छ ।

