काठमाण्डौ । विश्वव्यापी बैंक म्यासेन्जिङ नेटवर्क ‘स्विफ्ट’ले विश्वभरका केन्द्रीय बैंकहरुको डिजिटल करेन्सीलाई जोड्नका लागि नयाँ प्लेटफर्म लञ्च गर्ने तयारी गरेको छ । स्विफ्टले विकास भईरहेको यो प्लेटफर्मलाई आगामी एक दुई वर्षभित्रमा वर्तमानको वित्त प्रणालीमा जोड्ने योजना बनाएको हो ।
स्विफ्टको यो कदम विश्वको बैंकिङ प्रणालीमा एउटा महत्वपूर्ण कदम हुने बताइएको छ ।
अहिले विश्वभरका ९० प्रतिशत केन्द्रीय बैंकहरु आफनो मुद्राको डिजिटल भर्जन ल्याउन लागि परेका छन् । अधिकांश केन्द्रीय बैंकहरु बिट्क्वाइन र अन्य क्रिप्टोकरेन्सीसँग पछि पर्न चाहेका छैनन् ।
स्विफ्टको इनोभेसनका प्रमुख निक केरिगानले विश्वभरका ३८ वटा केन्द्रीय बैंक र वाणिज्य बैंकहरुको समूहमा ६ महिना नयाँ प्लटेफर्मको परीक्षण गरिएको बताएका छन् । जुन अहिले सम्मकै सबैभन्दा ठूलो‘सेन्ट्रल बैंक डिजिटल करेन्सी’(सीबीडीसी)परीक्षण भएको उनले बताएका छन् । यो परीक्षण विभिन्न फरक प्रविधि र प्रोटोकलमा आधारित भएर निर्माण भएपनि विश्वभरका विभिन्न देशका सीबीडीएसहरु एक साथमा प्रयोग गर्न सकिने विषयमा केन्द्रित रहेको उनले बताए । निकका अनुसार यसले भुक्तानी प्रणालीको विखंडन जोखिमलाई न्यूनिकरण गर्नेछ ।
यसका साथै यो प्लेटफर्म उच्च जटिल व्यापार र विदेशी मुद्रा भुक्तानीमा समेत प्रयोग गर्न सकिने र यसबाट प्रक्रिया चाडो हुनुका साथै प्रक्रियाको खर्च समेत कम हुने निकले बताए ।
बहमास,नाइजेरिया र जमैकामा सीबीडीसी प्रयोगमा रहेको छ । चीनले पनि ई–युआनको परीक्षणा गरिसकेको छ । युरोपको केन्द्रीय बैंकले समेत डिजिटल युरो ल्याउने तयारी गरेको छ ।
यस्तै विश्वभरका केन्द्रीय बैंकहरुको छाता संगठन ‘बैंक फर इन्टरनेशनल सेटलमेन्ट’ले पनि अन्तर देशिय परीक्षणहरु गरिरहेको छ ।
स्विफ्टको वर्तमान नेटवर्क २०० भन्दा देशहरुमा रहेको र यसले ११ हजार ५ सय बैंकहरुलाई जोडेर दैनिक रुपमा खर्बौ डलरको सेटलमेन्ट गर्ने भएकाले स्विफ्टलाई यो प्लेटफर्म प्रयोग हुन सजिलो हुने जनाइएको छ । -एजेन्सी