काठमाडौं – नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी एकाइले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन अनुसार, नेपालमा शङ्कास्पद वित्तीय कारोबार तथा गतिविधि अघिल्लो वर्षको तुलनामा करिब ३०–४० प्रतिशतले वृद्धि भएको छ।
प्रतिवेदनमा उल्लेख छ कि वित्तीय जानकारी एकाइले सञ्चालन गर्ने गोएमएल प्रणालीमार्फत प्राप्त सूचनामा उल्लेखनीय वृद्धि भएको छ। गत आवमा १ हजार ६३९ सूचक संस्था आबद्ध थिए भने चालु आवमा यो संख्या ३ हजार ४९७ पुगेको छ। सोही अवधिमा ९४५ वटा शङ्कास्पद कारोबाररगतिविधि रिपोर्ट भएका छन्।
प्रतिवेदनअनुसार, प्राप्त वित्तीय जानकारीको विश्लेषणपछि ४५ वटा तथ्यांक नेपाल प्रहरी, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत निकायमा पठाइएको थियो। यसले वित्तीय अपराध पहिचान, अनुसन्धान तथा अभियोजन प्रक्रियामा प्रत्यक्ष सहयोग पुर्याएको छ।
अन्तर्राष्ट्रिय सहकार्य पनि प्रतिवेदनमा सकारात्मक देखाइएको छ। आर्थिक वर्ष २०८१÷८२ मा विदेशी वित्तीय जानकारी एकाइसँग ६४ वटा सूचना आदानप्रदान गरिएको थियो, जसले सीमापार वित्तीय कारोबार, अन्तरदेशीय अपराध सञ्जाल र साइबर ठगी रोकथाममा सहयोग पुऱ्याएको छ।
प्रतिवेदनमा सन् २०२३ मा एसिया–प्यासिफिक समूहको मूल्याङ्कनपछि नेपाल ‘ग्रे–लिस्ट’ मा परेको तथ्यांक र त्यसपछिका सुधार प्रयाससमेत उल्लेख गरिएको छ। आगामी दिनमा वित्तीय जोखिममा आधारित दृष्टिकोण, प्रविधि आधारित विश्लेषण प्रणाली, अन्तरनिकाय समन्वय र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुधारलाई प्राथमिकता दिइने प्रतिवेदनले जनाएको छ।
वित्तीय जानकारी एकाइले भनेको छ, ‘वित्तीय सूचना विश्लेषणको गुणस्तर सुधार गर्दै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई अझ प्रभावकारी बनाउने हाम्रो लक्ष्य हो।’

