काठमाण्डौ । सेयर लगानीकर्ताहरुले झण्डै डेढ खर्ब रुपैयाँ बराबरको सेयर धितो कर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्थाबाट चालु आवको ५ महिनासम्ममा १ खर्ब ४८ अर्ब ६८ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर धितो राखेर कर्जा लिएका हुन् ।
यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ३७.७४ प्रतिशत बढी हो । गत आवको ५ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाले १ खर्ब ७ अर्ब ९४ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका थिए ।
पछिल्लो समय बैंकहरुको ब्याजदर निरन्तर घट्न थालेपछि सेयर धितो कर्जा प्रवाह भने बढ्न पुगेको हो । सेयर लगानीकर्ताहरुले घट्दो ब्याजदरको कारण आफ्नो स्वामित्वमा रहेको सेयर धितो राखेर कर्जा लिएको तथ्याङ्कले देखाएको छ ।
बैंकले आफ्नो व्यवस्थाअनुसार कुनै पनि व्यक्तिको स्वामित्वमा रहेको पुरानो सेयर वा आगामी दिनमा खरिद गर्ने सेयरलाई धितोको रुपमा राखेर कर्जा प्रवाह गर्न सक्दछ । लगानीकर्ताहरुले आफ्नो नाममा भएको सेयर बैंक वित्तीय संस्थामा धितो राखी कर्जा लिन पाउने व्यवस्था छ ।
तर सेयर धितो राखेर लिएको कर्जा भने लगानीकर्ताले जुनसुकै प्रयोजनका लागि प्रयोग गर्न सक्नेछ । तर अधिकांश सेयर धितो कर्जा सेयर खरिदमा नै प्रयोग हुने देखिएको छ । धितोपत्र दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताहरुको संख्या बढेसँगै बैंक वित्तीय संस्थाबाट यस्तो प्रकृतिको कर्जा प्रवाह बृद्धि भएको हो ।
सो अवधिसम्म वाणिज्य बैंकहरुबाट मात्रै १ खर्ब २५ अर्ब ७३ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ४५.६५ प्रतिशत बढी हो । गत आवको मंसिर महिनासम्ममा वाणिज्य बैंकहरुबाट ८६ अर्ब ३३ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको थियो ।
त्यस्तै, विकास बैंकहरुबाट १९ अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको छ । यो रकम गत आवको सोही अवधिसम्मको त ुलनामा ११।३९ प्रतिशत बढी हो । गत आवको ५ महिनासम्ममा विकास बैंकहरुबाट १७ अर्ब ४५करोड ८१ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको थियो ।
यता फाइनान्स कम्पनीहरुबाट भने जम्मा ३ अर्ब ५० करोड २१ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा १५.७५ प्रतिशत बढी हो । गत आवमा फाइनान्स कम्पनीहरुले ४ अर्ब १५ करोड रुपैयाँ बराबरको मार्जिन नेचरको लोन प्रवाह गरेका थिए । यस अवधिसम्म आइपुग्दा अधिकांश फाइनान्स कम्पनीहरुको यस्तो कर्जा प्रवाह घटेको छ ।


