काठमाण्डौ । कुखुरापालक किसान लामो समयदेखि उत्पादन लागतभन्दा कम मूल्यमा अण्डा बिक्री गर्न बाध्य भइरहेका बेला निर्वाचनको माहोलसँगै अण्डाको मूल्यमा बढोत्तरी भएको छ। नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुने गरी अण्डाको फार्म मूल्य बढाएको हो।
संघका अनुसार ठूलो अण्डाको एक क्रेट (३० वटा)को फार्म मूल्य ३० रुपैयाँले बढाएर ४९५ रुपैयाँ कायम गरिएको छ। यसअघि ठूलो अण्डा ४६५ रुपैयाँमा बिक्री हुँदै आएको थियो। यस्तै मझौला अण्डाको मूल्य ४७५ रुपैयाँ तोकिएको छ, जुन अघिल्लो मूल्यभन्दा ३० रुपैयाँले बढी हो।
निर्वाचनको गतिविधि बढ्नु, सीमा क्षेत्रमा कडाइ हुनु तथा विद्यालयहरू पुनः सञ्चालनमा आउनुले अण्डाको मागमा वृद्धि भएको छ। साथै, उत्पादन गर्ने कुखुराको सङ्ख्यामा कमी आउँदा बजारमा आपूर्ति घटेको छ।
गत मङ्सिरमा भने अण्डाको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। त्यस समयमा ठूलो अण्डा ५६५ रुपैयाँ र मझौला अण्डा ५५० रुपैयाँ प्रतिक्रेटमा बिक्री भएको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।