काठमाण्डौ । अमेरिका र बंगलादेशबीच द्विपक्षीय व्यापार सम्बन्ध मजबुत बनाउने उद्देश्यले नयाँ व्यापार सम्झौतामा हस्ताक्षर भएको छ। ९ फेब्रुअरीमा सम्पन्न उक्त सम्झौतापछि अमेरिकाले बंगलादेशबाट आयात हुने वस्तुहरूमा लगाइएको ट्यारिफ दर घटाएर १९ प्रतिशतमा झार्ने निर्णय गरेको हो।
ह्वाइट हाउसद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘अमेरिका र बंगलादेशले आफ्नो द्विपक्षीय आर्थिक सम्बन्ध सुदृढ गर्न पारस्परिक (रेसिप्रोकल) व्यापार सम्झौतामा सहमति जनाएका छन्।’
संयुक्त विज्ञप्तिअनुसार सम्झौताका प्रमुख प्रावधानहरूमा बंगलादेशी वस्तुहरूमा ट्यारिफ दर घटाउने र केही विशेष उत्पादनहरू पहिचान गरी तिनमा शून्य प्रतिशत ट्यारिफ लागू गर्ने व्यवस्था समावेश छ।
रोयटर्सका अनुसार बंगलादेशको अन्तरिम सरकारका मुख्य सल्लाहकार मोहम्मद युनुसले अमेरिकाले बंगलादेशमा अमेरिकी कपास तथा मानव निर्मित फाइबर प्रयोग गरेर उत्पादन गरिएका केही टेक्सटाइल तथा कपडामा शून्य पारस्परिक ट्यारिफ लागू गर्न संयन्त्र स्थापना गर्ने प्रतिबद्धता जनाएको जानकारी दिएका छन्।
सम्झौतामा बंगलादेशले पनि अमेरिकी औद्योगिक तथा कृषि उत्पादनहरूलाई आफ्ना बजारमा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ। यसमा रसायन, मेडिकल उपकरण, मेसिनरी, मोटर वाहन तथा तिनका पार्टपुर्जा, सूचना तथा सञ्चार प्रविधिका उपकरण, ऊर्जा उत्पादन, सोया तथा दुग्धजन्य पदार्थ, गाईको मासु, कुखुराजन्य पदार्थ, मेवा तथा फलफूल समावेश छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष बंगलादेशमाथि ३७ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका थिए। पछि गत अगस्टमा उक्त दर घटाएर २० प्रतिशत बनाइएको थियो, जसलाई अब फेरि घटाएर १९ प्रतिशतमा ल्याइएको हो।

