काठमाण्डौ । नेपालका डिजिटल प्लेटफर्महरू टिङटिङ र नेस्ट एसएमएसले प्रयोगकर्ताको KYC (Know Your Customer) प्रमाणीकरण प्रक्रियालाई स्वचालित बनाउन थर्ड फ्याक्टर एआई कम्पनीको प्रविधि प्रयोगमा ल्याएका छन्।
पछिल्लो समय नेपालमा स्पाम तथा अनधिकृत सन्देशहरूको दुरुपयोग बढ्दै गएको सन्दर्भमा, कम्प्लायन्स तथा नियमनको आवश्यकतालाई ध्यान दिँदै यी कम्पनीहरूले एआई-आधारित समाधान अपनाएका हुन्। थर्ड फ्याक्टर एआईले नेपाली बजारका लागि विशेष रूपमा विकास गरेको यो प्रणालीले अनुहारको मिलान, कागजातको OCR, लाइभनेस जाँच तथा फर्जी पहिचान रोक्ने क्षमता प्रदान गर्छ।
टिङटिङले पहिले म्यानुअल रूपमा कर्मचारीमार्फत प्रयोगकर्ताको पहिचान जाँच्ने गर्दथ्यो। प्रयोगकर्ताको संख्या बढेसँगै यो प्रक्रिया धेरै समय लाग्ने र जटिल बन्दै गएको थियो। अब थर्ड फ्याक्टर एआईको स्वचालित प्रणाली प्रयोगपछि अनुहार र कागजातको तत्काल जाँच सम्भव भएको छ, जसले ग्राहकलाई सेवा लिन लाग्ने समय निकै घटाएको कम्पनीले बताएको छ।
यसैगरी, नेस्ट एसएमएसले पनि बल्क एसएमएस प्लेटफर्ममा अनधिकृत सन्देश रोक्न तथा सुरक्षित सञ्चार सुनिश्चित गर्न यो एआई प्रविधिलाई एकीकृत गरेको छ। यसले स्वचालित अनबोर्डिङ मार्फत प्रयोगकर्तालाई छिटो तथा सुरक्षित रूपमा जोड्न मद्दत गर्छ।
यो कदमले नेपालको डिजिटल क्षेत्रमा एआईको व्यावहारिक प्रयोग बढ्दै गएको संकेत गर्छ। ठूला बैंक तथा संस्थाहरूमा एआई अझै परीक्षण तथा सीमित चरणमा रहे पनि, स्टार्टअप तथा नयाँ डिजिटल प्लेटफर्महरूले भने कानुनी पालना, फ्रड न्यूनीकरण र सञ्चालनको गति बढाउन एआईलाई प्रभावकारी रूपमा लागू गर्न थालेका छन्।
थर्ड फ्याक्टर एआई जस्ता नेपाली मूलका समाधानले स्थानीय आवश्यकता, जस्तै नेपाली आईडी तथा विविध अनुहारको पहिचानलाई राम्रोसँग सम्बोधन गर्ने भएकाले यस्ता प्रविधिको अपनाइ बढ्दै गएको देखिन्छ। यो विकासले नेपालको डिजिटल इकोसिस्टममा छिटो, सुरक्षित र भरपर्दो सेवा विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

