काठमाण्डौ । मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरानबीचको तनावपूर्ण युद्धले ऊर्जा मात्र होइन, खाद्यान्न बजारमा पनि असर देखिन थालेको छ। यसको प्रभाव संयुक्त अरब इमिरेट्स (यूएई) मा स्पष्ट देखिएको छ, जहाँ दैनिक प्रयोग हुने तरकारीहरूको मूल्य अचानक बढेको छ। स्थानीय बजारमा टमाटरको मूल्य प्रतिकिलो १० दिरहम (झण्डै ४०० नेपाली रुपैयाँ) पुगेको छ भने प्याज ७ दिरहम (करिब २८० रुपैयाँ) सम्म महँगिएको छ।
बजारमा देखिएको यो मूल्य उछाल निकै छोटो समयमा आएको हो। केही दिनअघि मात्र टमाटर करिब ५ दिरहम र प्याज ४ दिरहममा पाइन्थ्यो। दुबईको अल क्वोज क्षेत्रमा बसोबास गर्ने स्थानीय उपभोक्ता रिशाद अहमदले टमाटरको मूल्य अचानक दोब्बरभन्दा बढी बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्। अन्य उपभोक्ताहरूले पनि दैनिक खानपानका आधारभूत सामग्री महँगिँदा घरखर्च बढेको बताएका छन्।
सरकारी अधिकारीहरूका अनुसार मूल्यवृद्धि पछाडि क्षेत्रीय अस्थिरता मुख्य कारण बनेको छ। युद्धका कारण कच्चा तेल उत्पादन र ढुवानीमा समस्या देखिएको छ भने होर्मुज जलडमरूमध्य हुँदै हुने जहाज आवागमनमा कमी आएको छ। यसले इन्धन र ढुवानी खर्च बढाएको छ, जसको प्रभाव आयात हुने खाद्यान्न र कृषि सामग्रीमा समेत परेको विश्लेषण गरिएको छ। मल तथा अन्य कृषि लागत महँगिँदा खाद्य आपूर्ति प्रणालीमा पनि दबाब परेको बताइएको छ।
यूएई सरकारले भने देशको खाद्य सुरक्षा प्रणाली पर्याप्त रहेको दाबी गरेको छ। अर्थ मन्त्रालयका अनुसार आवश्यक खाद्यान्नको रणनीतिक भण्डारण करिब ६ महिनासम्मका लागि सुरक्षित रहेको छ। बजारमा टमाटर र प्याजको थप आपूर्ति गरिसकिएको भन्दै निकट भविष्यमा मूल्य पुनः सामान्य हुन सक्ने अपेक्षा गरिएको छ।
यसबीच सरकार मूल्य नियन्त्रणका लागि सक्रिय देखिएको छ। अर्थ मन्त्रालयले बजार अनुगमनका लागि विशेष निरीक्षण टोली परिचालन गरेको छ। रामजान महिनालाई ध्यानमा राख्दै मूल्य निगरानी अझ कडा बनाइएको छ। खाने तेल, अण्डा, दूधजन्य पदार्थ, चामल, चिनी, कुखुरा, दाल, रोटी तथा गहुँ लगायत नौ वटा अत्यावश्यक वस्तुको मूल्य बढाउनुअघि मन्त्रालयको स्वीकृति अनिवार्य गरिएको छ। नियम उल्लंघन गरेर अत्यधिक मूल्य लिने व्यवसायीलाई कडा जरिवाना समेत लगाइने चेतावनी दिइएको छ।
उपभोक्ताहरूले सरकारको यस्तो कदमलाई सकारात्मक रूपमा लिएका छन्। तर युद्ध लामो समयसम्म जारी रहेमा खाद्यान्नको मूल्यमा थप दबाब पर्ने चिन्ता पनि व्यक्त गरिएको छ। विशेषगरी यूएईमा काम गर्ने आप्रवासी समुदायले दैनिक उपभोग्य वस्तु महँगिँदा जीवनयापन खर्च बढेको बताएका छन्।
विश्लेषकहरूका अनुसार मध्यपूर्वको द्वन्द्वले तेल बजारसँगै खाद्यान्न आपूर्ति प्रणालीलाई समेत प्रभावित पार्न थालेको छ। आयातमा निर्भर देशहरूमा यस्तो मूल्य उछालले उपभोक्ताको खर्च बढाउने र बजारमा अस्थिरता निम्त्याउने जोखिम बढ्दै गएको देखिन्छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।