काठमाण्डौ । श्रीलंकाले इन्धन बचतका लागि हरेक बुधबार सार्वजनिक संस्थानहरुमा बिदा दिने निर्णय गरेको छ ।
अमेरिका र इजरायलले इरानसँग गरेको युद्धका कारण एसियाली देशहरुमा इन्धनको संकट बढ्न थालेपछि श्रीलंकाले बुधबार सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।
राष्ट्रपति अनुर कुमार दिसानायकेले सोमबार उच्च अधिकारीहरूसँगको आपतकालीन बैठकमा आगामी दिनमा अझै खराब अवस्था आउनसक्ने भन्दै त्यसको तयारीका लागि हरेक बुधबार सार्वजनिक बिदा दिने निर्णयमा पुगेको जानकारी गराएका थिए ।
युद्धका कारण खाडी क्षेत्रबाट एशियातर्फ जाने लाखौं ब्यारेल तेल ढुवानी हुने स्ट्रेट अफ हर्मुज अवरुद्ध भएको छ । जसका कारण विश्वभर पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित भइरहेको छ भने विश्व बजारमा मूल्य पनि वृद्धि भएको छ ।
यसबाहेक थाइल्याण्डमा पनि सरकारले एयर कन्डिसनको प्रयोग घटाउन कोट सुटको साटो छोटो बाहुला भएको टिसर्ट लगाउन अनुरोध गरेको छ भने म्यानमारमा इन्धनको प्रयोग घटाउन सवारी साधनमा जोर–विजोर प्रणाली लागू गरिएको छ ।
त्यस्तै, बंगलादेशले विश्वविद्यालयहरुमा रमजान बिदा अगाडी सारेको छ र देशभर उर्जा बचत गर्न योजनाबद्ध विद्युत कटौती लागू गरेको छ । त्यस्तै, भियतामले इन्धन बचत गर्न नागरिकहरुलाई घरमै बस्न र साइलक चलाउन वा सार्वजनिक यातायात प्रयोग गर्न अनुरोध गरेको छ ।

