काठमाडौं । सांसद दिपकबहादुर सिंहले लगानीकर्ताको लगानी सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन ।
जलविद्युत कम्पनीहरुको छाता संगठन ईप्पानले आयोजना गरेको 'वातावरणीय प्रभाव मूल्यांकनः प्रक्रिया, उपदेयिता र दीर्घकालीन महत्व' नामक कार्यक्रममा सांसद दिपक सिंहले लगानीकर्ताले हाइड्रोपावर कम्पनीमा गरेको लगानी डुब्न नहुने बताएका हुन ।
जलविद्युत क्षेत्रमा लगानीकर्ताको लगानी डुब्न नदिन उर्जा विधेयक पारित हुन आवश्यक रहेको उनले औल्याए ।
'हाइड्रोपावर कम्पनीमा लाखौं लगानीकर्ताले लगानी गरेका छन, निजी कम्पनीहरुले लगानी नडुब्ने गरी कम्पनीको विकास गर्नुपर्छ' उनले भने-'जलविद्युत कम्पनीहरुले नाफामुखीसँगै लगानीकर्ताको हितमा पनि काम गर्नुपर्छ ।'
साथै हाइड्रोपावर कम्पनीको विकास गरी युवाहरुलाई रोजगारको समेत अवसर ल्याउनुपर्नेमा उनले जोड दिए । 'यो क्षेत्र को विकास गर्न सकेनौ भने युवा पुस्ताहरु पलायन हुनसक्ने अवस्था आउँछ, कम्पनीहरुले उद्द्योगबाट युवा पुस्ता पलायन नहुने गरी कम्पनी ग्रो गराउनुपर्छ ।'-उनले भने ।