काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडले बीपीएल इन्भेष्टमेन्ट लिमिटेडमा २ करोड रुपैयाँ शेयर पूँजी लगानी गर्ने भएको छ।
कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दिएको जानकारीअनुसार लगानीसम्बन्धी उद्देश्य पूरा गर्न ‘बीपीएल इन्भेष्टमेन्ट लिमिटेड’ नामक सार्वजनिक कम्पनी कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरिएको छ।
बीपीएल इन्भेष्टमेन्टको अधिकृत पूँजी ५० करोड रुपैयाँ र जारी पूँजी २ करोड ५० लाख रुपैयाँ रहेको छ। बलेफी हाइड्रोपावरले उक्त कम्पनीमा कुल २ करोड रुपैयाँ शेयर पूँजी लगानी गर्ने निर्णय गरेको हो।
बीपीएल इन्भेष्टमेन्टले पहिलो चरणमा शेयर पूँजीबापत १ करोड रुपैयाँ माग गरेपछि बलेफी हाइड्रोपावरको सञ्चालक समितिले असोज १५ गते बसेको बैठकबाट उक्त रकम भुक्तानी गर्ने निर्णय गरेको हो।
कम्पनीका अनुसार बाँकी १ करोड रुपैयाँ भने आवश्यकताअनुसार पछि लगानी गरिनेछ।
बलेफी हाइड्रोपावरले लगानीसम्बन्धी निर्णयबारे नेपाल धितोपत्र बोर्ड, सीडीएस एन्ड क्लियरिङ लिमिटेड तथा शेयर रजिस्ट्रार हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडलाई समेत जानकारी गराएको छ।
बलेफी हाइड्रोपावरले सिन्धुपाल्चोकमा ३६ मेगावाट क्षमताको अपर बलेफी ‘ए’ जलविद्युत आयोजना सञ्चालन गर्दै आएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।