काठमाण्डौ । विगत २-३ वर्षदेखि देशको अर्थतन्त्र अफ्ठ्यारो अवस्थाबाट गुज्रिरहेको छ। यसो हुनुमा नियमनकारी निकायहरुमा रहेको नीतिगत अन्योलता र उनीहरुले अबलम्बन गरेको गलत नीति नै प्रमुख रुपमा जिम्मेवार देखिन्छ। नीति–नियमहरु तर्जुमा गर्दा खासगरी गलत, अव्यवहारिक र अपरिपक्क निर्णयले देशको अर्थतन्त्र र यसका विभिन्न अंगहरुपनि धरापमा परिरहेका छन्।
देशको अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा रहेको कारण पूँजीबजार पनि अफ्ठ्यारो र सकसपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। पूँजीबजार आजको अर्थतन्त्रको आधार हो, अभिन्न अंग हो। पूँजीबजारको सहि विकास र बिस्तार बिना देशले चाहेको आर्थिक वृद्धि हासिल गर्न सकिँदैन। यसले निष्क्रिय स्रोत र साधनलाई परिचालन गरेर सक्रिय मात्र गर्दैन, सो को अधिकतम र प्रभाबकारी उपयोग गरेर उत्पादकत्व पनि बढाऊछ साथै यसले थप रोजगारी श्रृजना गर्ने तथा राजश्वमा समेत योगदान गर्छ।
तर दुर्भाग्य, अर्थतन्त्रको यति महत्वपूर्ण पाटोलाइ सहि तवरबाट बुझ्ने र यसबाट अधिकतम लाभ लिने प्रयास नै गरिएको छैन। नेपालको पूँजीबजारलाई दयनिय अवस्थामा राखिएको छ। पूँजीबजारको सदुपयोग त धेरै परको बिषय उल्टै यसलाई अबमुल्यन गर्दै महत्वहीन बनाइएको छ। यतिले मात्र नपुगेर विगत २–३ बर्ष यता उल्टै नेपालको पूँजीबजारमाथि प्रहारै प्रहार गरेर थला नै पारिएको छ। यस्तो पूँजीबजारले न त लगानीकर्ताहरुको हक–हितको सुनिश्चितता गर्छ, न त आर्थिक विकासमा योगदान नै। पूँजीबजारको सहि विकास र विस्तार विना लगानीकर्ताहरुको हक–हितको सुनिश्चितता पनि हुँदैन र देशको आर्थिक विकास पनि सम्भब छैन।
तपाईको अर्थमन्त्रीमा नियुक्तिसँगै पूँजी बजारमा केही आशा पलाएको थियो । तपाईंका हरेक वक्तव्यमा पूँजी बजारको सुधार गर्ने प्रतिवद्धता पटकपटक दोहोरिन्थ्यो। तर महिनौ वित्दासम्म पूँजी बजार सुधार सम्बन्धमा एउटा इट्टा थप्ने काम समेत गरिएन। अहिले आएर अर्थमन्त्रालय, लगानी बोर्ड, लगानी सम्मेलनको तयारीमा जुटेको छ । लगानी सम्मेलन गर्नुभन्दा पहिले के तपाईँ र लगानी बोर्डले लगानीकर्ताहरूलाई तलका प्रश्नहरूको सही जवाफ दिन सक्छ ?
१. नेपालको पूँजीबजारलाई सरकारले नियन्त्रणमा राख्न खोजेको छ। कम्पनीहरूमा स्रोत जुटाउनको लागि सरकारलाई पूँजी बजार चाहिएको छ। तर बजारको सुधार गर्न चाहँदैन किन ?
२. नेपाल सरकारका प्रधानमन्त्री स्वयंले पूँजी बजारलाई साम्राज्यवादको नयाँ रूप भनेर व्याख्या गर्नुहुन्छ। के यस्तो सोच राख्ने सरकारलाई विश्वास गर्दै वैदेशिक लगानीकर्ताहरू नेपालमा लगानी गर्न आउलान ?
३. एकातिर तपाईहरु लगानीको आह्वान गर्दै हुनुहुन्छ, अर्कोतिर व्यक्तिगत रुपमा १५ करोड र संस्थागत रुपमा २० करोड भन्दा बढी कम्पनीहरूमा लगानी गर्न पाइँदैन भनेर मौद्रिक नीति बनाउनुहुन्छ । यो आफैमा हास्यास्पद भएन र ?
४. नेपाल सरकारका विभिन्न कालखण्डमा अवलम्बन गरिएका अस्थिर नीतिहरू, लगानी र त्यसको प्रतिफल प्रयोग गर्ने सम्बन्धमा संकीर्ण सोच, राज्य नियन्त्रित अर्थव्यवस्था आलम्बन गर्ने सोचका बावजुद ठूला ठूला लगानीकर्ता नेपालमा भित्रन नसकेको विगत २–३ वर्षको रेकर्डबाट प्रष्ट भएन र ?
५. अर्थतन्त्रको ऐनाको रुपमा रहेको पूँजी बजारको इन्डेक्स २ हजारको हाराहारी छ । यो इन्डेक्सले नेपालमा लगानीको वातावरणा स्पष्ट देखाउँछ । अब नेपालले के मुख लगाएर लगानीको लागि आह्वान गर्दछ ?
६. पूँजीबजारका ऐन–कानुनहरु अव्यवहारिक र एकापसमा बाझिने खालका छन्। कहिले संशोधन र लगानीमैत्री बनाउनुहुन्छ ?
७. अन्तर्राष्ट्रिय लगानीकर्तालाई लगानी गर्नको लागि उत्प्रेरणा जगाउन र लगानीका क्षेत्रहरूको सूची (इन्भेष्टमेन्ट मेन्यू) खै ?
८. पूँजी बजारको सुधारको लागि कार्य योजना माग्नुभयो अहिले दराजमा थन्काउनुको रहस्य के हो ? कार्य योजना सार्वजनिक गर्न र कार्यान्वयन गर्नमा के कुराले रोक्यो ?
९. आफ्नो मातहतमा र आफैंले निर्णय गर्न सक्ने धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया तीन महिनासम्म टुङ्गिन नसक्नुले नेपालमा सुशासन कतिको छ भनेर स्पष्ट देखिँदैन र ? देशका आम लगानीकर्ताहरू धितोपत्र बोर्ड एउटा स्वायत्त निकाय भएर निर्भिक र निडरका साथ पूँजीबजारको सुधारमा काम गरेको हेर्न चाहन्छन्।
१०. नेपालमा लगानी गरिरहेका लगानीकर्ताहरू स्वयं सुरक्षित छैनन्, भएका उद्योगहरु बन्द हुने अवस्थामा छन्, सुरक्षाको प्रत्याभूति गर्न सकिरहेका छैनन्, व्यवसायीहरूलाई धम्काउने तर्साउने र पूँजी पलायन गराउनमा स्वयं सरकारी निकायहरू लागेको अवस्थामा थप लगानीकर्ताहरू लगानी गर्छन् भन्ने कुरामा के तपाईहरु विश्वस्त हुनुहुन्छ ?
यी माथिका प्रश्नहरूको जवाफ आम लगानीकर्ताहरू चाहन्छन् । के सरकारी संयन्त्र यी प्रश्नहरू माथि खुल्ला बहस गर्न तयार छ । लगानीकर्ताहरू अर्थमन्त्रीलाई भेटेर आफ्ना गुनासाहरू राख्न नपाउने देशमा कुन लगानीकर्तालाई खोजेर हिडिरहनुभएको छ हामी जवाफ चाहन्छौं ।
घनश्याम पाण्डे, काठमाण्डौ
(प्रश्नकर्ता नेपाल सेयरधनी संघका अध्यक्ष हुनुहुन्छ)