काठमाण्डौ । सिटिजन्स लाइफ इन्स्योरेन्सले आफ्नो सेवा गुणस्तर र व्यवस्थापन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार उकास्दै ISO 9001:2015 प्रमाणिकरण प्राप्त गरेको छ।
यो प्रमाणिकरण United Registrar of Systems (URS) तथा UKAS Management Systems मार्फत प्रदान गरिएको हो, जसले कम्पनीको गुणस्तर व्यवस्थापन प्रणाली विश्वस्तरका मापदण्डअनुसार सञ्चालन भइरहेको पुष्टि गर्छ।
कम्पनीका अनुसार यो उपलब्धिले सेवा प्रवाह, सञ्चालन प्रक्रिया र व्यवस्थापन प्रणालीमा पारदर्शिता, दक्षता तथा निरन्तर सुधारको अभ्यासलाई संस्थागत बनाउनेछ। यसले ग्राहकलाई अझ छिटो, प्रभावकारी र भरपर्दो सेवा प्रदान गर्ने लक्ष्यलाई थप सुदृढ बनाएको छ।
विशेषगरी बीमा दाबी भुक्तानी, ग्राहक सेवा र आन्तरिक व्यवस्थापन प्रणालीमा एकरूपता तथा अनुशासन कायम गर्न यो प्रमाणिकरण महत्वपूर्ण हुने कम्पनीको विश्वास छ। साथै, यसले सेवाको गुणस्तर र संस्थागत स्थायित्वमा सकारात्मक प्रभाव पार्दै ग्राहकको विश्वास बढाउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ।
कम्पनीले आन्तरिक प्रक्रियालाई अझ व्यवस्थित, प्रभावकारी र उत्तरदायी बनाउने तथा नियामक मापदण्डसँग थप सुसंगतता कायम गर्ने लक्ष्य राखेको छ। यससँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कम्पनीको पहिचान र विश्वसनीयता अझ मजबुत हुने विश्वास व्यक्त गरिएको छ।
सिटिजन लाइफले यस उपलब्धिलाई केवल औपचारिक प्रमाणपत्रका रूपमा नभई दीर्घकालीन सेवा उत्कृष्टता, उत्तरदायित्व र ग्राहक केन्द्रित कार्यशैलीको प्रतिबद्धताका रूपमा ग्रहण गरेको जनाएको छ। आगामी दिनमा पनि सेवा गुणस्तरमा निरन्तर सुधार गर्दै ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राखेर अघि बढ्ने कम्पनीको भनाइ छ।

