काठमाण्डौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले अनलाइन माध्यमबाट हुने बैंकिङ ठगीका घटना बढ्दै गएको भन्दै आम नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।
ब्यूरोका अनुसार कनेक्ट आइपिएसजस्तै देखिने नाम प्रयोग गरी विभिन्न मोबाइल नम्बरबाट भ्रामक सन्देश पठाउने र प्रयोगकर्तालाई झुक्याउने प्रवृत्ति विस्तार हुँदै गएको छ ।
यसरी पठाइने सन्देशमा ‘फिसिङ लिंक’ समावेश हुने र त्यही लिंकमार्फत प्रयोगकर्ताको व्यक्तिगत विवरण लिई बैंक खातामा अनधिकृत पहुँच प्राप्त गरेर रकम चोरी गर्ने गतिविधि तीव्र भएको जनाएको छ ।
प्रवक्ता दिलीपकुमार गिरीले यस्ता शंकास्पद लिंक नखोल्न, अपरिचित स्रोतबाट आएका सन्देशलाई बेवास्ता गर्न र आफ्नो संवेदनशील जानकारी कसैसँग साझेदारी नगर्न सर्वसाधारणलाई सचेत गराएका छन् ।

