काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ ।
संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म १८ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा १४०.६५ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म संस्थाले ७ करोड ८६ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानीमा पनि उल्लेख्य सुधार देखिएको छ, जसकारण नाफा वृद्धिमा टेवा पुगेको हो । संस्थाले ते्रस्रो त्रैमाससम्म ६६ करोड ५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । यो आम्दानी गत आवको सोही अवधिसम्मको तुलनामा ३५.९४ प्रतिशत बढी हो ।
संस्थाको इम्पेयरमेन्ट चार्ज र खराब कर्जा अनुपात भने बढेको छ । सो अवधिसम्म संस्थाले प्रोभिजनको लागि ४ करोड ४९ लाख रुपैयाँ छुट्याएको छ । गत आवको सोही अवधिसम्म संस्थाले ३ करोड ८ लाख रुपैयाँ प्रोजिभनका लागि छुट्याएको थियो ।
यता खराब कर्जा अनुपात पनि ५.२६ प्रतिशतबाट बढेर १७.९० प्रतिशत पुगेको छ । संस्थाको कस्ट अफ फण्ड ६.७७ प्रतिशत, बेस रेट १२.३२ प्रतिशत, स्प्रेड दर ७.९५ प्रतिशत र पूँजीकोष १०.४१ प्रतिशत रहेको छ ।
संस्थाको इपीएस ९.४८ रुपैयाँबाट बढेर २२.८२ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५२.८२ रुपैयाँ, मूल्य आम्दानी अनुपात २९.६२ गुणा र तरलता अनुपात ६.२२ प्रतिशत रहेको छ ।
संस्थाले सो अवधिसम्म वितरणयोग्य मुनाफामा १४ करोड ६४ लाख रुपैयाँ छुट्याएको छ । यसर्थ संस्थाको सो अवधिसम्मको लाभांश क्षमता १३.२४ प्रतिशत रहेको छ ।

