काठमाण्डौँ । सरकारले स्वास्थ्य क्षेत्रका विभिन्न नियामक तथा सेवा प्रदायक संस्थाहरूमा रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बुधबार सूचना प्रकाशित गर्दै नौ वटा संस्थाका अध्यक्ष, सदस्य, रजिस्ट्रार, कार्यकारी निर्देशक तथा सदस्य सचिवलगायत पदका लागि आवेदन मागेको हो।
मन्त्रालयका अनुसार नेपाल आयुर्वेद चिकित्सा परिषद्मा अध्यक्ष, सदस्य र रजिस्ट्रार पदका लागि आवेदन खुला गरिएको छ।
त्यसैगरी नेपाल स्वास्थ्य अनुसन्धान परिषद् को अध्यक्ष, सदस्य तथा सदस्य सचिव पदका लागि पनि इच्छुक व्यक्तिहरूबाट आवेदन मागिएको छ।
यस्तै, नेपाल नर्सिङ परिषद् मा अध्यक्ष, उपाध्यक्ष, सदस्य र रजिस्ट्रार, नेपाल स्वास्थ्य व्यवसायी परिषद् मा अध्यक्ष र रजिस्ट्रार तथा नेपाल फार्मेसी परिषद् मा अध्यक्ष, सदस्य र रजिस्ट्रार पदका लागि समेत दरखास्त आह्वान गरिएको छ।
मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको अध्यक्ष, सदस्य र रजिस्ट्रार तथा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सदस्य पदका लागि पनि आवेदन मागेको जनाएको छ।

यसका साथै सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक र सदस्य तथा स्वास्थ्य बीमा बोर्डको अध्यक्ष, सदस्य र कार्यकारी निर्देशक पदका लागि समेत छनोट प्रक्रिया अघि बढाइएको छ।
मन्त्रालयले इच्छुक तथा योग्य उम्मेदवारलाई १० दिनभित्र आवेदन पेश गर्न आग्रह गरेको छ।
आवेदन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बुझाउन सकिनेछ भने आवश्यक योग्यता, अनुभव तथा पेश गर्नुपर्ने कागजात सम्बन्धी विस्तृत विवरण मन्त्रालयको वेबसाइटमा उपलब्ध गराइएको छ।
स्वास्थ्य क्षेत्रका प्रमुख संस्थाहरूमा नेतृत्व चयन प्रक्रिया शुरु भएसँगै ती निकायको कार्यसम्पादन, नीतिगत निर्णय तथा सेवा प्रवाहमा नयाँ नेतृत्वको भूमिका महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।