काठमाण्डौ । जापानको केन्द्रीय बैंक (बैंक अफ जापान)ले मंगलबार आफ्नो नीतिगत ब्याजदर ०.७५ प्रतिशतबाट बढाएर १ प्रतिशत पुर्याएको छ। यो पछिल्ला ३० वर्षयताकै उच्च स्तर हो र सन् १९९५ पछि पहिलो पटक ब्याजदर १ प्रतिशत पुगेको हो।
बैंकले लिएको यो निर्णय बजारको अपेक्षाअनुसार नै आएको जनाएको छ। बैंक अफ जापानको बोर्ड मतदानमा ७–१ को मतान्तरले निर्णय पारित भएको थियो, जसमा एक सदस्यले दर नबढाउनुपर्ने पक्षमा असहमति जनाएका थिए।
जापानमा बढ्दो मुद्रास्फीति, ऊर्जा मूल्यको वृद्धि तथा कमजोर येनका कारण नीति कडाइ आवश्यक भएको बैंक अफ जापानले जनाएको छ। आयातित वस्तु महँगिँदा उपभोक्ता मूल्यमा दबाब बढ्दै गएको छ।
थोक मूल्य सूचकांक हालै ६.३ प्रतिशतले वृद्धि भएको छ, जुन पछिल्ला तीन वर्षयताकै सबैभन्दा तीव्र वृद्धि हो। ब्याजदर वृद्धि पछि जापानको सेयरबजार मापक इन्डेक्स निक्की२२५ इन्डेक्स सामान्य रूपमा बढेको देखिएको छ भने अमेरिकी डलरको तुलनामा येन केही मजबुत भएको छ। यस्तै, सरकारी बन्डको प्रतिफल पनि बढेको छ।
बैंक अफ जापानले सरकारी बन्ड खरिद क्रमशः घटाउँदै जाने र सन् २०२७ सम्म मासिक खरिद २ ट्रिलियन येनमा सीमित राख्ने योजना पनि सार्वजनिक गरेको छ।
विश्लेषकहरूका अनुसार यो निर्णयले जापान अब लामो समयदेखिको अत्यधिक सहज मौद्रिक नीतिबाट क्रमिक रूपमा बाहिर निस्कँदै गरेको संकेत गर्छ।
मुद्रास्फीति दबाब कायम रहेमा आगामी महिनाहरूमा थप ब्याजदर वृद्धि हुन सक्ने सम्भावना पनि उनीहरुले औंल्याएका छन्।

