काठमाण्डौ । भारतीय बजारमा नेपाली चियाको निर्यात अवरुद्ध भएपछि ठप्प बनेको इलामको सूर्योदय नगरपालिकास्थित चिया उद्योग क्षेत्र पुनः सञ्चालन हुने भएको छ।
उद्योगी, स्थानीय सरकार र सरोकारवालाबीच भएको तीन बुँदे सहमतिपछि शुक्रबारदेखि बन्द रहेका ५३ वटा चिया उद्योग पुनः सञ्चालनमा आउने भएका हुन्।
भारतीय चिया बोर्डले लागू गरेको नयाँ गुणस्तर परीक्षण मापदण्डका कारण नेपाली अर्थोडक्स चियाको निर्यात प्रक्रिया जटिल बनेपछि उद्योगहरूको गोदाममा ठूलो परिमाणमा चिया थन्किएको थियो।
निर्यात ठप्प हुँदा उत्पादन, प्रशोधन र बजार व्यवस्थापनमा समस्या आएपछि उद्योगहरू सञ्चालन गर्न कठिन भएको थियो।
सूर्योदय नगरपालिका चिया समस्या समाधान समिति र सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनबीच भएको छलफलले उद्योग सञ्चालनका लागि तीन महत्वपूर्ण निर्णय गरेको छ।
सहमतिअनुसार निर्यात हुन नसकी गोदाममा थन्किएको चिया सुरक्षित राख्न नगरपालिकाले भण्डारण कक्षको व्यवस्था गर्नेछ।
बजार अवस्था सहज नभएसम्म उद्योगहरूले किसानको भुक्तानी स्थगित गर्न पाउनेछन् भने दीर्घकालीन समाधानका लागि चियाको गुणस्तर सुधार र विषादी नियन्त्रणमा विशेष अभियान सञ्चालन गरिनेछ।
सूर्योदय नगरपालिकाका अनुसार उद्योगहरूमा हाल करिब १० लाख किलोग्राम अर्थोडक्स चिया भण्डारण भएको छ।
आवश्यकता परे एक सिजनमा उत्पादन हुने ३० लाख किलोग्रामसम्म चिया सुरक्षित राख्न सक्ने भण्डारण पूर्वाधार तयार गर्ने योजना बनाइएको छ।
भण्डारण गरिएको चियाको सुरक्षा तथा व्यवस्थापनका लागि विशेष समिति गठन गरिएको छ, जसले एक साताभित्र आवश्यक संरचना तयार गर्नेछ।
चिया निर्यात अवरुद्ध हुँदा उद्योगीहरूको गोदाम भरिएका थिए भने किसानले उत्पादन गरेको हरियो चिया बिक्री गर्न समस्या भएको थियो।
उद्योग सञ्चालन नहुँदा किसानहरू बाध्य भएर दैनिक ६० देखि ७० गाडीसम्म हरियो चिया झापाका सिटिसी उद्योगहरूमा पठाइरहेका थिए।
यसले स्थानीय अर्थतन्त्रमा समेत प्रत्यक्ष असर पारेको थियो।
व्यवसायिक दृष्टिले हेर्दा भारतीय बजारमा देखिएको अवरोधले नेपाली चिया उद्योगको उच्च निर्भरता उजागर गरेको छ।
नेपालबाट निर्यात हुने कुल चियामध्ये करिब ८६ प्रतिशत भारतमै जाने भएकाले सीमापार व्यापारमा देखिने कुनै पनि नीतिगत परिवर्तनले उद्योगलाई प्रत्यक्ष असर पार्ने गरेको छ।
समस्या उत्पन्न हुनुको मुख्य कारण भारतले मे १ देखि लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ (एसओपी) हो।
नयाँ व्यवस्थाअनुसार नेपालबाट भारत निर्यात हुने प्रत्येक खेपको चिया अनिवार्य रूपमा प्रयोगशाला परीक्षण गर्नुपर्नेछ।
प्रत्येक सवारी साधनको नमुना परीक्षणका लागि ११ हजार ५०० भारतीय रुपैयाँ शुल्क लाग्ने र परीक्षण प्रतिवेदन आउन १५ दिनभन्दा बढी समय लाग्ने व्यवस्था गरिएको छ।
यसअघि एउटा नमूना परीक्षणकै आधारमा धेरै गाडीको चिया निर्यात गर्न पाइन्थ्यो।
तर, अहिले प्रत्येक गाडीको छुट्टाछुट्टै परीक्षण गर्नुपर्ने भएपछि लागत वृद्धि हुनुका साथै आपूर्ति श्रृंखला प्रभावित भएको उद्योगीहरूको गुनासो छ।
परीक्षण प्रतिवेदनमा गुणस्तर वा विषादीको मात्रा मापदण्डभन्दा बढी देखिए चिया नष्ट गर्नुपर्ने व्यवस्था समेत उद्योगीका लागि थप जोखिम बनेको छ।
उद्योगीहरूका अनुसार भारतका विभिन्न सहरमा पुगिसकेको करिब दुई लाख ५० हजार किलोग्राम नेपाली चिया परीक्षण प्रक्रियाकै कारण रोकिएको छ।
यसले नगद प्रवाहमा समस्या ल्याएको छ भने किसानदेखि निर्यातकर्ता र मजदूरसम्म सम्पूर्ण मूल्य शृंखलामा असर परेको छ।
नेपालको चिया उद्योग देशको महत्वपूर्ण निर्यातमुखी कृषि व्यवसायमध्ये एक हो।
वार्षिक करिब १५ हजार ६ सय मेट्रिक टन चिया निर्यात हुँदै आएको छ।
गतआर्थिक वर्ष २०८१र८२ मा मात्रै नेपालले १ करोड ५६ लाख केजी चिया निर्यात गरी ४ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी वैदेशिक मुद्रा आर्जन गरेको थियो।
देशभर १५ हजारभन्दा बढी चिया कृषक र करिब ६० हजार मजदुर प्रत्यक्ष रूपमा यस क्षेत्रमा आश्रित छन्।
झापा, इलाम, पाँचथर र धनकुटालगायत जिल्लामा उत्पादन हुने अर्थोडक्स तथा अर्गानिक चिया अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको पहिचानका रूपमा स्थापित छन्।
उद्योगीहरू अहिले सरकारको कूटनीतिक तथा व्यापारिक पहलमार्फत भारतीय बजारमा देखिएको अवरोध समाधान हुने अपेक्षामा छन्।
संघीय सरकारले पनि समस्या समाधानका लागि उच्चस्तरीय समिति गठन गरिसकेको छ।
उद्योगीहरूका अनुसार सरकारी स्तरबाट निर्यातका वैकल्पिक बजार खोज्ने र भारतसँग आवश्यक समन्वय गर्ने आश्वासन प्राप्त भएपछि उद्योग पुनः सञ्चालन गर्ने वातावरण बनेको हो।
लामो समय उद्योग बन्द हुँदा किसान, मजदूर र व्यवसायी सबै प्रभावित भएकाले तत्काल उद्योग सञ्चालन गर्नु नै अहिलेको प्राथमिक आवश्यकता भएको उद्योगीहरूको भनाइ छ।

