काठमाण्डौ । संस्थापक सेयर बिक्रीअघि १५ दिन सार्वजनिक सूचना दिनुपर्ने व्यवस्थाले दोस्रो बजारमा सिर्जना गरेको अन्योल हटाउन नेपाल धितोपत्र बोर्ड (सेबोन) सकारात्मक देखिएको छ ।
सेयर लगानीकर्ता सुरज खड्काले सोमबार धितोपत्र बोर्ड पुगेर बोर्डका उच्च अधिकारीहरूसँग यस विषयमा करिब आधा घण्टा छलफल गरेका छन् । छलफलपछि उनले १५ दिने सूचना सम्बन्धी व्यवस्थाका कारण दोस्रो बजारका लगानीकर्तामा उत्पन्न भ्रमप्रति बोर्ड गम्भीर रहेको र छिट्टै स्पष्ट धारणा आउन सक्ने संकेत पाएको बताएका छन् ।
खड्काका अनुसार उनले बोर्डका दुई–तीन जना उच्च अधिकारीसँग संस्थापक सेयर बिक्रीसम्बन्धी १५ दिने पूर्वसूचना व्यवस्थाले पारिरहेको प्रभावबारे विस्तृत छलफल गरेका थिए ।
छलफलका क्रममा उनले यस्तो सूचनाले ठूला तथा संस्थापक सेयरधनीको कारोबारसम्बन्धी विवरण अग्रिम रूपमा सार्वजनिक हुँदा लगानीकर्ताको गोपनीयता प्रभावित हुने र दोस्रो बजारमा अनावश्यक मनोवैज्ञानिक दबाब सिर्जना हुने विषय उठाएका थिए ।
विशेषगरी संस्थापक सेयरसम्बन्धी उक्त व्यवस्था दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्तालाई समेत लागू हुने हो वा होइन भन्ने विषयमा बोर्डले स्पष्ट धारणा दिनुपर्ने उनको माग थियो ।
खड्काका अनुसार छलफलमा सहभागी बोर्डका उच्च अधिकारीहरूले १५ दिने सूचना व्यवस्था दोस्रो बजारका सामान्य लगानीकर्तालाई लक्षित गरी लागू गरिएको नियम नभएको बताएका छन ्। यद्यपि यस विषयमा बोर्डको औपचारिक धारणा आउन बाँकी छ ।
‘बोर्डका अधिकारीहरू दोस्रो बजारका लगानीकर्ताको विषयमा सकारात्मक देखिनुभएको छ,’ खड्काले भने, ‘यस व्यवस्थाले सिर्जना गरेको अन्योल अन्त्य गर्न बोर्डबाट स्पष्ट निर्णय आउन आवश्यक छ ।’
बोर्ड अध्यक्ष डा. गोपाल प्रसाद भट्ट ‘इन्टर कलेज फाइनान्सियल लिटेरेसी प्रिजेन्टेसन कम्पिटिशन’ कार्यक्रममा सहभागी हुन पोखरा गएकाले तत्काल निर्णय हुन नसकेको जानकारी आफूले पाएको पनि खड्काले बताए ।
उनका अनुसार अध्यक्ष फर्किएपछि यथासक्य चाँडो बोर्ड बैठक बसेर १५ दिने सूचनासम्बन्धी विषयमा स्पष्ट धारणा सार्वजनिक गर्ने तयारी रहेको छ ।
खड्काले धितोपत्र बोर्डले केवल नियामकको भूमिका निर्वाह गरेर मात्र नपुग्ने भन्दै लगानीकर्ताको अभिभावकका रूपमा समेत प्रस्तुत हुनुपर्ने बताए ।
उनले ठूला लगानीकर्ताको सक्रिय सहभागिताबिना दोस्रो बजार चलायमान हुन नसक्ने भन्दै नियामकीय व्यवस्थाले उनीहरूलाई हतोत्साहित गर्ने अवस्था सिर्जना गर्न नहुने धारणा व्यक्त गरे ।
‘बजारमा ठूलो पूँजी भएका लगानीकर्ताले सेयर खरिद गर्न छाडे भने बजार कसरी चलायमान हुन्छ ?’ उनले प्रश्न गर्दै भने, ‘नियमले पारदर्शिता ल्याउनुपर्छ, तर लगानीकर्तालाई त्रसित बनाउने वा उनीहरूको कारोबार रणनीति सार्वजनिक गरिदिने अवस्था बन्नु हुँदैन ।’
पछिल्लो समय १५ दिने पूर्वसूचना व्यवस्थालाई लिएर लगानीकर्तामाझ तीव्र असन्तुष्टि र बहस देखिएको छ। यसको कार्यक्षेत्र, उद्देश्य र दोस्रो बजारमा पर्ने प्रभावबारे बोर्डको औपचारिक धारणा नआउँदा अन्योल थपिएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।