काठमाण्डौ । कक्षा १२ को परीक्षाफललाई लिएर देशभरबाट विद्यार्थीहरूले उठाएका गुनासा र असन्तुष्टिलाई सम्बोधन गर्न सरकारले अध्ययन तथा छानबिन समिति गठन गरेको छ।
परीक्षाफलमा त्रुटि भएको दाबी गर्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले तथ्य परीक्षणका लागि आवश्यक प्रक्रिया अघि बढाएको हो।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षाफलसम्बन्धी विवाद र विद्यार्थीहरूको चासोलाई मध्यनजर गर्दै उत्तरपुस्तिका परीक्षण, प्राप्ताङ्क प्रविष्टि (डेटा इन्ट्री) तथा नतिजा तयारी प्रक्रियाको विस्तृत समीक्षा गर्न समिति गठन गरिएको जानकारी दिएका छन्।
समितिमा शिक्षा तथा खेलकुद मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका उपसचिवहरू सहित सम्बन्धित प्राविधिक विज्ञहरूको सहभागिता रहने जनाइएको छ।
हालै सार्वजनिक भएको कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले नतिजा प्रकाशनमा हतार गरिएको र त्यसका कारण धेरैको नतिजामा त्रुटि देखिएको आरोप लगाएका छन्।
यही विषयलाई लिएर विद्यार्थीहरूले बिहीबार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्दै नतिजाको पुनः परीक्षण र पारदर्शी छानबिनको माग गरेका थिए।
विद्यार्थीहरूको आन्दोलन र गुनासोबारे प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले परीक्षाफल सार्वजनिक गर्ने क्रममा कुनै प्रकारको हतार नगरिएको स्पष्ट पारेका छन्।
उनका अनुसार नतिजा समयमै प्रकाशन गर्न अतिरिक्त जनशक्ति परिचालन गरिएको थियो भने अनावश्यक प्रशासनिक प्रक्रियाहरूलाई व्यवस्थित बनाइएको थियो।
त्यसैले नतिजा तोकिएको समयसीमाभित्र सार्वजनिक भएको उनले बताएका छन्।
मन्त्री पोखरेलले आन्दोलनरत विद्यार्थीहरूलाई लक्षित गरी सामाजिक सञ्जालमा भइरहेका अपमानजनक टिप्पणीप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्।
शान्तिपूर्ण रूपमा आफ्ना माग राख्ने अधिकार सबै नागरिकलाई रहेको उल्लेख गर्दै उनले विद्यार्थी वा कुनै पनि आन्दोलनकारी समूहप्रति गालीगलौज, दुर्व्यवहार तथा असम्मानजनक अभिव्यक्ति नदिन सबैलाई आग्रह गरेका छन्।
सरकारले गठन गरेको समितिले परीक्षाफलसम्बन्धी सम्पूर्ण प्रक्रियाको अध्ययन गरी सत्यतथ्य सार्वजनिक गर्ने तथा आवश्यक सुधारका लागि सुझाव प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
मन्त्री पोखरेलले विद्यार्थीहरूको गुनासालाई निष्पक्ष ढंगले सम्बोधन गर्दै देखिएका समस्याहरू समाधानका लागि आवश्यक कदम चालिने विश्वास व्यक्त गरेका छन्।

