सोमबार, श्रावण १८,२०८३ 07:50:07
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 07:50:07
Bizshala
Global IME Bank Limited

कोशीमा लगानी विस्तार गर्न चार परियोजनाका लागि २ अर्बभन्दा बढी रकम स्वीकृत

कोशीमा लगानी विस्तार गर्न चार परियोजनाका लागि २ अर्बभन्दा बढी रकम स्वीकृत
New Office

काठमाण्डौ । कोशी प्रदेश लगानी प्राधिकरणले प्रदेशको आर्थिक तथा पूर्वाधार विकासलाई गति दिने उद्देश्यसहित चार वटा परियोजनामा २ अर्ब ८ करोड ५३ लाख रुपैयाँभन्दा बढी लगानी स्वीकृत गरेको छ।  

सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलअन्तर्गत सञ्चालन हुने यी परियोजनाहरूलाई प्राधिकरणको ३३औँ बैठकले अनुमोदन गरेको हो।

मुख्यमन्त्री हिक्मतकुमार कार्की को अध्यक्षतामा बसेको बैठकले फोहोरमैला व्यवस्थापन, कृषि प्रशोधन, कोल्ड स्टोरेज तथा पर्यटन पूर्वाधारसँग सम्बन्धित परियोजनाहरू अघि बढाउने निर्णय गरेको जनाएको छ।

स्वीकृत योजनाअन्तर्गत सुनसरीको दुहबीमा फोहोरमैला व्यवस्थापन केन्द्र र कृषि उत्पादन भण्डारण तथा प्रशोधनका लागि मल्टी च्याम्बर कोल्ड स्टोरेज निर्माण गरिनेछ।  

यस्तै, उदयपुरको बेलका नगरपालिकामा फोहोरमैला व्यवस्थापन परियोजना सञ्चालन हुनेछ भने सुनसरीको रामधुनीस्थित रास ताल क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माण गरिनेछ।  

रास ताल परियोजनामा मात्रै झण्डै ९८ करोड ५८ लाख रुपैयाँ लगानी हुने अनुमान गरिएको छ।

प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले प्रदेशमा पीपीपी अवधारणाअन्तर्गतका परियोजनाहरूले सकारात्मक परिणाम दिन थालेको बताए।  

उनका अनुसार भेडेटार स्काइ वाक सफलतापूर्वक सञ्चालनमा आएपछि प्रदेश सरकारलाई प्रत्यक्ष राजस्व प्राप्त हुन थालेको छ, जसले निजी क्षेत्रको सहभागितामा विकास परियोजना सञ्चालन गर्ने अवधारणालाई थप बल दिएको छ।

यसैबीच, प्राधिकरणले रानीदेखि विराटनगर बसपार्कसम्मको करिब ६ किलोमिटर क्षेत्रमा नेपालकै पहिलो ‘पड–वे’ परियोजनाको सम्भाव्यता अध्ययन गर्न अनुमति प्रदान गरेको छ।

करिब ६ अर्ब १८ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त परियोजनालाई भविष्यमा भेडेटारसम्म विस्तार गर्ने दीर्घकालीन योजना रहेको बताइएको छ।

कोसी प्रदेश सरकारले आयोजना गरेको पहिलो लगानी सम्मेलनबाट भएको लगानी प्रतिबद्धता पनि विस्तारै कार्यान्वयनको चरणमा पुगेको छ।  

सम्मेलनमा ५१ परियोजनाका लागि करिब १ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको समझदारी भएको थियो।

प्राधिकरणका अनुसार अधिकांश निजी क्षेत्रका परियोजनाहरू अहिले निर्माण तथा कार्यान्वयन प्रक्रियामा प्रवेश गरिसकेका छन्, जसले प्रदेशमा लगानी, रोजगारी र आर्थिक गतिविधि बढाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.