सोमबार, श्रावण १८,२०८३ 06:40:24
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 06:40:24
Bizshala
Global IME Bank Limited

एक वर्षको लाइसेन्स छाप्न राज्य अनिच्छुक, १० वर्षे कार्डको प्रस्ताव

विदेश अध्ययन वा रोजगारीमा जानेलाई भने तत्काल आवश्यक परे पुरानै म्यादको लाइसेन्स उपलब्ध हुने

एक वर्षको लाइसेन्स छाप्न राज्य अनिच्छुक, १० वर्षे कार्डको प्रस्ताव
New Office

–रविन ठकुरी

 

काठमाण्डौ । सवारीचालक अनुमतिपत्र हातमा आइपुग्दासम्म म्याद सकिन लाग्ने समस्या समाधान गर्न यातायात व्यवस्था विभागले नयाँ उपाय अघि सारेको छ । विभागले एक वर्षभन्दा कम म्याद बाँकी रहेका करिब ३ लाख सवारीचालक अनुमतिपत्र तत्काल छपाइका लागि नपठाउने निर्णय गरेको छ ।

छोटो म्यादको लाइसेन्स छापेर वितरण गर्दा केही समयमै पुनः नविकरण र फेरि छपाइ गर्नुपर्ने अवस्था आउने भएकाले विभागले सेवाग्राहीलाई पहिले नविकरण गर्न लगाएर १० वर्ष म्याद भएको नयाँ लाइसेन्स उपलब्ध गराउने तयारी गरेको हो ।

यो प्रस्ताव कार्यान्वयन भए राज्यको करोडौं रुपैयाँको छपाइ खर्च जोगिने र सेवाग्राहीले समेत निकट भविष्यमै फेरि नविकरणका लागि तिर्नुपर्ने शुल्कबाट राहत पाउने विभागको दाबी छ । तर, विदेश अध्ययन वा रोजगारीका लागि तत्काल लाइसेन्स आवश्यक पर्ने सेवाग्राहीलाई भने पुरानै म्यादअनुसारको लाइसेन्स उपलब्ध गराइनेछ ।

३० लाखको ब्याकलगमध्ये २८ लाख छपाइ प्रक्रियामा

विभागका अनुसार केही समयअघि छपाइका लागि करिब ३० लाख सवारीचालक अनुमतिपत्र तयारी अवस्थामा थिए । असार १० गतेसम्म साढे २५ लाख लाइसेन्स छपाइ भइसकेका छन् भने करिब अढाई लाख लाइसेन्स छपाइका लागि पठाइसकिएको छ।

तर, एक वर्षभन्दा कम म्याद भएका करिब ३ लाख लाइसेन्स भने विभागले रोकेर राखेको छ । ती लाइसेन्स छापेर वितरण गर्दा सेवाग्राहीले छोटो समयमै नविकरणका लागि पुनः आवेदन दिनुपर्ने हुन्छ । यसले सरकारी सुरक्षण मुद्रण केन्द्रमा फेरि चाप बढाउनुका साथै एउटै सेवाग्राहीको लाइसेन्समा दोहोरो छपाइ खर्च थपिने विभागको निष्कर्ष छ ।

विभागका निर्देशक केशव खतिवडाका अनुसार एक वर्षभन्दा कम म्यादका लाइसेन्स तत्काल छपाइ नगरी सेवाग्राहीलाई नविकरणपछि १० वर्षे लाइसेन्स दिने प्रस्ताव अघि सारिएको हो ।

“छोटो म्यादको लाइसेन्स छापेर दिँदा केही समयमै पुनः नविकरण र फेरि छपाइको चक्र सुरु हुन्छ,” उनले भने, “नविकरणपछि लामो म्यादको लाइसेन्स दिँदा सेवाग्राही र राज्य दुवैलाई लाभ हुन्छ ।”

६ करोड ६० लाख छपाइ खर्च जोगिने अनुमान

विभागका अनुसार एउटा नयाँ स्मार्ट लाइसेन्स छपाइ गर्न करिब २२० रुपैयाँ खर्च लाग्छ । ३ लाख लाइसेन्स छाप्दा मात्र राज्यको करिब ६ करोड ६० लाख रुपैयाँ खर्च हुने देखिन्छ ।

ती लाइसेन्सको छपाइ रोक्दै नविकरणपछि १० वर्षे लाइसेन्स दिने प्रस्ताव कार्यान्वयन भए राज्यले तत्काल उक्त रकम जोगाउन सक्नेछ ।

सेवाग्राहीका लागि पनि प्रस्ताव लाभदायी हुने विभागको दाबी छ । मोटरसाइकलको लाइसेन्स नविकरण गर्न न्यूनतम १ हजार ५ सय रुपैयाँ दस्तुर लाग्छ । तीन लाख सेवाग्राहीलाई एक पटकको नविकरण शुल्क छुट दिने हो भने करिब ४५ करोड रुपैयाँ बराबरको राहत पुग्ने अनुमान विभागको छ ।

यसरी एकातिर राज्यको छपाइ खर्च जोगिने र अर्कोतिर सेवाग्राहीलाई छोटो समयमै फेरि नविकरण गर्नुपर्ने झन्झटबाट राहत मिल्ने भएकाले विभागले यसलाई ‘विन–विन’ प्रस्तावका रूपमा अघि सारेको छ ।

तर, यो व्यवस्था अझै कानुनी रूपमा बाध्यकारी बनिसकेको छैन । विभागको प्रस्तावमा औपचारिक निर्णय आउन बाँकी छ । एक वर्षभन्दा कम म्यादकै लाइसेन्स तुरुन्त चाहिने सेवाग्राहीले भने सोही अवधिको लाइसेन्स लिन सक्नेछन् । विशेष गरी वैदेशिक रोजगारी, अध्ययन वा अन्य अत्यावश्यक प्रयोजनका लागि जाने नागरिकलाई यो सुविधा खुला रहनेछ ।

अधिकार प्रदेशमा, छपाइ केन्द्रमा: यहीँबाट बढ्यो ढिलाइ

लाइसेन्स छपाइमा देखिएको सुस्तताको मुख्य कारण भने अधिकार र कार्यान्वयनबीचको संरचनागत असन्तुलन हो । संघीयता कार्यान्वयनसँगै सवारीचालक अनुमतिपत्रसम्बन्धी धेरै जिम्मेवारी प्रदेशमा पुगेको छ । तर लाइसेन्स छपाइका लागि आवश्यक सुरक्षण मुद्रण मेसिन प्रदेशसँग छैन ।

प्रदेशबाट संकलित विवरण र आवेदन अन्ततः सरकारी सुरक्षण मुद्रण केन्द्रमै पठाउनुपर्ने भएकाले छपाइ प्रक्रिया लम्बिँदै गएको विभागको भनाइ छ ।

पहिले विभागले प्रत्यक्ष रूपमा व्यवस्थापन गर्ने छपाइ प्रक्रिया अहिले प्रदेश, यातायात कार्यालय र सुरक्षण मुद्रण केन्द्रबीच समन्वयमा निर्भर बनेको छ । यही बहु–तह प्रक्रियाले सेवाग्राहीलाई म्याद सकिन लाग्दासम्म पनि लाइसेन्स हात नपर्ने अवस्था सिर्जना गरेको छ ।

निर्देशक खतिवडाका अनुसार नयाँ लाइसेन्सका लागि फाराम भर्ने, परीक्षा सञ्चालन गर्ने, स्वास्थ्य परीक्षण गर्ने र राजस्व संकलन गर्ने काम प्रदेशबाटै हुने भए पनि छपाइ केन्द्रमा निर्भर रहँदा वितरणमा ढिलाइ भइरहेको छ ।

सुरक्षण मुद्रणसम्बन्धी कानुनी व्यवस्थाअनुसार नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, बैंक नोट, अन्तःशुल्क स्टिकर र सवारीचालक अनुमतिपत्रजस्ता संवेदनशील सामग्रीको छपाइमा बाधा नपर्ने गरी काम गर्नुपर्ने हुन्छ । त्यसैले लाइसेन्स छपाइ पनि सरकारी सुरक्षण मुद्रण केन्द्रको प्राथमिकता, क्षमता र कार्यतालिकासँग जोडिएको छ ।

राहतको प्रस्ताव कि व्यवस्थापनको असफलता ?

छोटो म्यादको ३ लाख लाइसेन्स छपाइ रोक्ने विभागको प्रस्तावले तत्काल राज्यको खर्च घटाउने र सेवाग्राहीलाई राहत दिने सम्भावना देखाए पनि मूल प्रश्न भने यथावत् छ-नागरिकले समयमै लाइसेन्स किन पाउन सकेका छैनन् ?

लाइसेन्स छपाइको जिम्मेवारी प्रदेशमा पुगे पनि मेसिन, जनशक्ति र छपाइ पूर्वाधार केन्द्रमै सीमित हुँदा सेवाग्राहीले लामो समयसम्म कागजी रसिदकै भरमा सवारी चलाउनुपर्ने अवस्था बनेको छ ।

विभागको नयाँ प्रस्तावले ३ लाख लाइसेन्सको तत्काल दबाब कम गर्न सक्छ । तर संघ, प्रदेश र सुरक्षण मुद्रण केन्द्रबीचको जिम्मेवारी स्पष्ट नबनाएसम्म ‘लाइसेन्स बनेको छ, तर हातमा छैन’ भन्ने पुरानै समस्या दोहोरिरहने देखिन्छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.