काठमाण्डौ । टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिङ्ग विधिमार्फत धितोपत्रको सार्वजनिक निष्काशन (आईपीओ) प्रक्रिया अघि बढाउने क्रममा योग्य संस्थागत लगानीकर्तासँग छलफल (रोड शो) कार्यक्रम आयोजना गर्ने भएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त संस्थागत लगानीकर्ताहरूलाई सहभागी गराई प्रारम्भिक विवरणपत्रमाथि छलफल तथा आशय मूल्य संकलन गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो।
नेपाल धितोपत्र बोर्डको बुक विल्डिङ्ग निर्देशिका, २०७७ बमोजिम आयोजना गरिने उक्त छलफल कार्यक्रममा लगानीकर्ताहरूले धितोपत्रको न्यूनतम खरिद संख्या, आशय मूल्य तथा मूल्याङ्कनका आधारसम्बन्धी धारणा प्रस्तुत गर्न सक्नेछन्। साथै प्रारम्भिक विवरणपत्रमा समावेश विषयवस्तुमा सुझाव संकलन गर्ने व्यवस्था पनि गरिएको छ।
कार्यक्रम असार १९ गतेका दिन दिउँसो ३ बजे काठमाण्डौस्थित होटल याक एण्ड यतीमा आयोजना गरिनेछ। कार्यक्रममा योग्य संस्थागत लगानीकर्ता मात्र सहभागी हुन पाउनेछन्।
कम्पनीले रोड शोमा सहभागी हुने संस्थाका लागि प्रारम्भिक विवरणपत्र, निष्काशन हुने धितोपत्रको संख्या, अनुमानित मूल्य तथा मूल्याङ्कनको आधार लगायतका विवरणहरू साथै पछिल्ला तीन आर्थिक वर्षका लेखापरीक्षण भएका वित्तीय विवरणहरू आवश्यक पर्ने जनाएको छ।

