मंगलवार, श्रावण ५,२०८३ 11:40:48
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 11:40:48
Bizshala
Global IME Bank Limited

सेबोनको नयाँ नेतृत्व एक्सनमा : बजार शुद्धीकरणको ब्लूप्रिन्ट यही साताभित्र

सेबोनको नयाँ नेतृत्व एक्सनमा : बजार शुद्धीकरणको ब्लूप्रिन्ट यही साताभित्र
New Office

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ नेतृत्वले पूँजीबजार सुधारका लागि पहिलो ठूलो संकेत दिएको छ। लगानीकर्ता र बजारका अन्य सरोकारवालाले सम्भवतः यही साताभित्र नेपाली पूँजीबजार आगामी वर्षहरूमा कुन दिशातर्फ अघि बढ्ने भन्ने स्पष्ट ब्लूप्रिन्ट (रोडम्याप) पाउने भएका छन्।

सेबोनका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले सोमबार पदभार ग्रहण गरेलगत्तै विभिन्न विभागका प्रमुखसँग ब्रिफिङ लिने क्रममा पूँजीबजारको विकास, विस्तार, आधुनिकीकरण, सुशासन र नियामकीय सुधारलाई समेट्ने स्पष्ट रणनीतिक खाका तत्काल तयार गर्न निर्देशन दिएका हुन्।

उनले बोर्डका कर्मचारीलाई उत्साहका साथ परिणाममुखी ढंगले काम गर्न आग्रह गर्दै अबको प्राथमिकता कामको गति बढाउने, कानुनी कमजोरी हटाउने र बजारप्रतिको विश्वास पुनःस्थापित गर्ने हुने स्पष्ट पारे।

डा. भट्टका अनुसार तयार हुने ब्लूप्रिन्टमा वर्तमान सरकारको नीति, पूँजीबजारका लगानीकर्ता तथा अन्य सरोकारवालाबाट विगतमा प्राप्त सुझाव, अन्तर्राष्ट्रिय अभ्यास तथा आफ्नो नियामकीय दृष्टिकोणलाई समेत समेटिनेछ।

"हामी पूँजीबजारको विकास र विस्तारका लागि स्पष्ट ब्लूप्रिन्ट बनाएरै अगाडि बढ्छौं। नियमित कार्यक्रम त छँदैछन्, त्यसबाहेक रणनीतिक सुधारका प्राथमिकतासहितको रोडम्याप सार्वजनिक गर्छौं। सम्भवतः यही साताको अन्त्यसम्म हामी त्यो ब्लूप्रिन्ट तयार गरेर सार्वजनिक गर्नेछौं," पदभार ग्रहण गरेको केही घण्टापछि बिजशालासँग उनले भने।

उनका अनुसार पूँजीबजारलाई सशक्त, आधुनिक, पारदर्शी र विश्वसनीय बनाउने अभियानमा सेबोनको सम्पूर्ण टिमलाई पहिलो दिनदेखि नै परिचालन गरिसकिएको छ।

"टिम परिचालन गरेर बनाइएको योजनाअनुसार अब काम अघि बढ्छ। कम बोल्छौं, धेरै काममा केन्द्रित हुन्छौं। हाम्रो ध्यान परिणाममा हुनेछ," उनले भने।

डा. भट्टले विशेषगरी पछिल्लो समय पूँजीबजारमा देखिएका कानुनी अस्पष्टता, नियामकीय कमजोरी र त्यसको आडमा भइरहेका अनैतिक गतिविधि नियन्त्रण गर्नु आफ्नो प्रमुख प्राथमिकतामध्ये एक हुने संकेत दिएका छन्।

"पूँजीबजारका सबै प्रक्रियालाई व्यवस्थित गर्नुपर्छ। कानुनका छिद्रहरू टाल्नुपर्छ। अनैतिक गतिविधिलाई निस्तेज पारेर बजारप्रतिको जनविश्वास अझ बलियो बनाउनुपर्छ। यी सबै काममा हामी अत्यन्त चनाखो र प्रतिबद्ध हुनेछौं," उनले भने।

डा. भट्टको यो अभिव्यक्ति पछिल्लो समय बजारमा देखिएका ब्याकडोर लिस्टिङ, नियामकीय लुपहोलको दुरुपयोग, सूचीकृत कम्पनीहरूको सुशासन, बजार हेरफेर तथा लगानीकर्ता संरक्षण जस्ता विषयमा सेबोनले अब थप सक्रिय र कडा भूमिका खेल्ने संकेतका रूपमा समेत हेरिएको छ।

पूँजीबजारका सरोकारवालाको चासो अब एउटै विषयमा केन्द्रित छ-सेबोनले सार्वजनिक गर्ने भनिएको ब्लूप्रिन्टले केवल दीर्घकालीन दृष्टि मात्रै दिनेछ, वा लामो समयदेखि थाती रहेका संरचनागत सुधार, कानुनी संशोधन र बजार शुद्धीकरणका एजेन्डालाई समेत कार्यान्वयनको स्पष्ट मार्गचित्र प्रस्तुत गर्नेछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.