काठमाण्डौ। नेपाल राष्ट्र बैंकले आज ३५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज अनलाइन बोलकबोलमार्फत ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ क’ नामक ऋणपत्र (१ वर्षे) जारी गर्न लागेको हो ।
यो ऋणपत्रको साँवा भुक्तानी २०८४ असार १६ गते हुनेछ र ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।
यो ऋणपत्रको बोलकबोलमा क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी) मात्र सहभागी हुन पाउने छन् । ऋणपत्रको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ । ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुने राष्ट्र बैंकले उल्लेख गरेको छ । यसको बोलकबोल आज दिउँसो ३ बजे अनलाइन माध्यमबाट हुनेछ ।
आह्वान गरिएको ऋणपत्रको रकम बाँडफाँड गर्दा बोलकबोलको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा राखी आह्वान रकमसम्म वा समितिले निर्धारण गरेको बाँडफाँड रकमसम्मको विन्दुमा कायम हुने ब्याजदरलाई एकल ब्याजदर कायम गरी सोही एकल ब्याजदरमा सो दर र सो दरभन्दा कम बोलवालालाई नेपाल राष्ट्र बैंक ऋणपत्र बिक्री गरिने केन्द्रीय बैंकले जनाएको छ ।

