सोमबार, असार २२,२०८३ 02:54:06
Bizshala
  • सोमबार, असार २२,२०८३ 02:54:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भट्टको बोलीमै रोकियो धितोपत्र बोर्डको आन्दोलन, गेटबाट हटे काला ब्यानर

Laxmi Sunrise Bank Limited
भट्टको बोलीमै रोकियो धितोपत्र बोर्डको आन्दोलन, गेटबाट हटे काला ब्यानर

काठमाण्डौ । सरकारी निकायमा नयाँ नेतृत्व आएपछि फूल, खादा र शुभकामनाले स्वागत गर्ने सामान्य परम्परा हो । तर, नेपाल धितोपत्र बोर्डमा भने नयाँ अध्यक्ष डा. गोपालप्रसाद भट्टको स्वागत केवल औपचारिक सम्मानमै सीमित रहेन । महिनौंदेखि जारी कर्मचारी आन्दोलन नै स्थगित गरेर बोर्डका कर्मचारीले नयाँ नेतृत्वप्रतिको विश्वास प्रकट गरेका छन् ।

नेपालको पूँजीबजारको प्रमुख नियामक निकाय धितोपत्र बोर्डमा सेवासुविधा कटौतीलगायतका विषयलाई लिएर कर्मचारी लामो समयदेखि आन्दोलनमा थिए । बोर्डको मुख्य गेटदेखि कार्यालय परिसरभित्रसम्म विरोधका ब्यानर, पर्चा र दैनिक आन्दोलनका सूचना टाँसिएका थिए । कर्मचारीहरूले दिनहुँ ‘आन्दोलन यतिऔं दिनमा’ पुगेको भन्दै विरोधको निरन्तरता देखाइरहेका थिए ।

पूर्वअध्यक्ष सन्तोषनारायण श्रेष्ठको कार्यकालमै सुरु भएको असन्तुष्टि नयाँ अध्यक्ष नियुक्ति हुँदासम्म पनि रोकिएको थिएन । नेतृत्वविहीन अवस्थादेखि नयाँ अध्यक्ष आउँदासम्म बोर्डभित्र कर्मचारीको असन्तोष सतहमै देखिएको थियो । तर, डा. भट्टले अध्यक्षको जिम्मेवारी सम्हालेपछि पहिलो प्राथमिकता कर्मचारीलाई विश्वासमा लिने विषयलाई दिए ।

New Office
CG Motors
Garima Development Bank

बोर्डमा प्रवेश गरेलगत्तै उनले कर्मचारीहरूसँग विशेष सम्बोधन कार्यक्रम राखे । सम्बोधनका क्रममा भट्टले बोर्डलाई नयाँ शिराबाट अघि बढाउन सबैको साथ आवश्यक रहेको बताए । कर्मचारीका गुनासा र माग आफूले सुन्ने, बुझ्ने र सम्बोधनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउँदै उनले तत्काल आन्दोलन स्थगित गरेर काममा सहयोग गर्न आग्रह गरेका थिए ।

‘पूँजीबजारको दीर्घकालीन विकासका लागि परिपक्व योजना बनाउनुछ, त्यसका लागि कर्मचारीको साथ अनिवार्य छ,’ अध्यक्ष भट्टको भनाइ उद्धृत गर्दै कर्मचारी स्रोतले भन्यो, ‘भर्खरै आएको छु, मलाई समय दिनुस् र सहयोग गर्नुस् भन्ने उहाँको आग्रह थियो ।’

अध्यक्ष भट्टको यही प्रतिबद्धतालाई सम्मान गर्दै बोर्डको आधिकारिक कर्मचारी युनियनले जारी आन्दोलन स्थगित गर्ने निर्णय गरेको हो । आन्दोलन स्थगित भएपछि बोर्डको मुख्य गेट र कार्यालय परिसरमा टाँगिएका विरोधका ब्यानर तथा पर्चाहरू हटाइएको छ । कर्मचारीहरूलाई आन्दोलन स्थगित भएको जानकारीसहित सन्देशसमेत पठाइएको छ ।

बोर्डको आधिकारिक कर्मचारी युनियनका प्रेसिडेन्ट राजु जिसीले नयाँ अध्यक्षको वचनलाई सम्मान गर्दै आन्दोलन स्थगित गरिएको बताए । बिजशालासँग कुरा गर्दै उनले भने, ‘गेट र भित्र ब्यानर राखिएको थियो । हरेक दिन आन्दोलन यतिऔं दिनमा पुग्यो भन्दै पोस्टर टाँसिँदै आएको थियो । बोर्डको सेवा पहिल्यै खुलाइएको थियो, तर विरोधका कार्यक्रम दैनिकजसो जारी थिए । नयाँ अध्यक्षले नयाँ शिराबाट अघि बढ्ने कुरा गर्नुभयो । म गर्छु, तर मलाई समय चाहिन्छ भन्नुभयो । त्यसैले हामीले उहाँलाई सहजीकरण गर्ने निर्णय गर्‍यौं ।’

जिसीका अनुसार कर्मचारीले उठाएका माग सरकार, अर्थ मन्त्रालय र बोर्ड नेतृत्वबीच राम्रो समन्वय भए तीन महिनाभित्र सम्बोधन गर्न सकिने खालका छन् । उनले बोर्डको सेवासुविधा नेपाल राष्ट्र बैंकको तुलनामा कमजोर रहेको दाबी गर्दै नियमावली, निर्देशिका र कार्यविधिमा सुधार गरेर धेरै विषय समाधान गर्न सकिने बताए ।

‘उहाँ आफैं पहिले कर्मचारी भएर काम गरिसकेको व्यक्ति हो । राष्ट्र बैंकको कार्यकारी निर्देशक भइसकेकाले विधि, प्रक्रिया र कर्मचारीको मनोविज्ञान बुझ्नुहुन्छ,’ जिसीले भने, ‘पहिले अध्यक्ष र सरकारबीच ट्यूनिङ नमिल्दा हाम्रो माग अलपत्र परेको थियो । अहिले सरकार, अध्यक्ष र कर्मचारी एउटै लाइनमा जान सक्ने अवस्था देखिएको छ ।’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कर्मचारी युनियनले बोर्डको आफ्नै भवनको विषयसमेत छिट्टै टुंग्याउनुपर्ने माग राखेको छ । जिसीका अनुसार नयाँ अध्यक्षले बोर्डका संरचनागत समस्या, कर्मचारीका सेवासुविधा र पूँजीबजार सुधारका विषयलाई सँगसँगै अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

‘हाम्रो तर्फबाट कुनै व्यवधान हुँदैन, कर्मचारीको पूर्ण सहयोग रहन्छ भनेर हामीले भनिसकेका छौं,’ जिसीले थपे, ‘उहाँले कर्मचारीलाई साथमा लिएर पूँजीबजारको भविष्यको योजना बनाउने कुरा गर्नुभएको छ । कर्मचारीहरू उहाँको कुराबाट कन्भिन्स भएपछि आन्दोलन स्थगित गरिएको हो ।’

लामो समय नेतृत्व विवाद, कर्मचारी असन्तुष्टि र नियामकीय कमजोरीको आलोचनामा परेको धितोपत्र बोर्डमा नयाँ अध्यक्षको आगमनसँगै कम्तीमा आन्तरिक वातावरणमा सकारात्मक संकेत देखिएको छ । कर्मचारी आन्दोलन स्थगित हुनुलाई बोर्डभित्र डा. भट्टप्रतिको प्रारम्भिक विश्वासका रूपमा हेरिएको छ ।

अब अध्यक्ष भट्टमाथि दोहोरो दबाब छ– एकातिर कर्मचारीका मागलाई समयमै सम्बोधन गर्ने, अर्कोतर्फ लामो समयदेखि विकृति र अविश्वासले गाँजिएको पूँजीबजारलाई सुधारको ठोस दिशामा लैजाने । कर्मचारीले आन्दोलन रोकेर दिएको ‘विश्वासको समय’ उनले कसरी सदुपयोग गर्छन्, त्यसैले धितोपत्र बोर्डको नयाँ यात्राको वास्तविक परीक्षा तय गर्नेछ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.