काठमाण्डौ । धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिएका छन्। लामो समयदेखि उत्पादन नगरी जग्गा ओगटेर बसेका उद्योगहरूको लिज सम्झौता रद्द गरेर नयाँ उद्योगलाई स्थान दिइएको हो। नयाँ उद्योगबाट करिब ३५ करोड रुपैयाँ स्वदेशी लगानी भित्रिने र ३५० जनाले प्रत्यक्ष रोजगारी पाउने अपेक्षा गरिएको छ।
थपिएका उद्योगहरूमा प्रीति भल्भ एन्ड फिटिङ इन्डस्ट्रिज, जिडी स्टिल इन्डस्ट्रिज, सिद्धि विनायक घरेलु उद्योग, जेआर भेन्चर्स र सूर्य डायमन्ड इन्डस्ट्रिज रहेका छन्। यी उद्योगहरूले पानीका मिटर तथा फिटिङ सामग्री, निर्माण सामग्री, खाद्यान्न तथा पशु आहार र भाँडावर्तन उत्पादन गर्नेछन्।
औद्योगिक क्षेत्र व्यवस्थापनले उत्पादनमुखी उद्योगलाई प्राथमिकता दिँदै आयात प्रतिस्थापन, राजस्व वृद्धि र स्थानीय अर्थतन्त्र सुदृढ गर्ने उद्देश्यले नयाँ उद्योगलाई अवसर दिएको जनाएको छ। धरान औद्योगिक क्षेत्रमा हाल ३५ उद्योग रहेका छन्, जसले करिब १ हजार जनालाई प्रत्यक्ष रोजगारी दिएका छन्।

