काठमाण्डौ । शारजाहबाट पाकिस्तानको कराची जाँदै गरेको एक निजी कम्पनीको कार्गो विमानको भग्नावशेष अरब सागरमा फेला परेको छ। पाकिस्तानको तटीय क्षेत्र नजिकै बेपत्ता भएको उक्त विमानको भग्नावशेष ओरमारा तटबाट करिब ५३ समुद्री माइल दक्षिणमा भेटिएको हो।
पाकिस्तानी नौसेना र पाकिस्तान समुद्री सुरक्षा निकायले समुद्रमा करिब १२ घण्टा लामो खोज तथा उद्धार अभियान सञ्चालन गरेपछि विमानको भग्नावशेष फेला पारेका हुन्। यद्यपि विमानमा रहेका चालक दलका सदस्यहरूको अवस्था अझै अज्ञात रहेको छ र उनीहरूको खोजी अभियान जारी छ।
पाकिस्तान विमानस्थल प्राधिकरणका अनुसार चालक दलको खोजीका लागि पाकिस्तानी नौसेना र वायुसेनाले संयुक्त रूपमा उद्धार अभियान सञ्चालन गरिरहेका छन्।
पाकिस्तानी अधिकारीहरूका अनुसार विमान मंगलबार राति ९ बजेर २१ मिनेटमा रडारमा तीव्र रूपमा तल झर्दै गरेको देखिएको थियो। त्यसपछि विमानको दिशा अचानक परिवर्तन भएको र कराचीबाट करिब १५५ समुद्री माइल पश्चिममा रडार तथा सञ्चार सम्पर्क विच्छेद भएको थियो।
बेपत्ता भएको विमान बोइङ ७३७ मोडलको कार्गो विमान रहेको र यो कराचीस्थित निजी एयरलाइन्स के२ एयरवेजको रहेको बताइएको छ।
एयरलाइन्सका अनुसार विमानमा पाँच जना चालक दलका सदस्य सवार थिए। उनीहरूमा पाइलट इन कमान्ड मोहम्मद रिजवान इद्रिस, फर्स्ट अफिसर फैसल महमुद, लोड मास्टर मोहम्मद तौफिक खान तथा इन्जिनियरहरू आरिफ सिद्दिकी र मोहम्मद हमिद रहेका छन्।

